९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जसपा कपिलवस्तुको वाणगंगामा शक्ति प्रर्दशन, नेताहरुले ओलीलाई दिए यस्तो धम्की !



मायादेवी अनलाइन, चार नम्बर ।

जनता समाजबादी पार्टी (जसपा) कपिलवस्तुले बाणगंगामा बुधबार शक्ति प्रदर्शन गरेको छ । केपी शर्मा ओलीको पछिल्लो कदमका विरुद्ध विरोध कार्यक्रम स्वरुप जसपाले शक्ति प्रर्दशन गरेको हो ।

यसअघि बाणगंगामा भएको विरोधमा उल्लेख्य जनता सहभागि नहुँदा प्रहरीले समेत दमन गरेको भन्दै बुधबार तौलिहवाबाट बाजागाजासहित सयौँको संख्यामा जसपाका नेता कार्यकर्ता आएका थिए । चार नम्बरमा सयौँ संख्यामा जसपाका समर्थक देखेपछि स्थानीय समेत अचम्ममा परेका थिए ।

जिल्लाका बिभिन्न स्थानबाट सवारीमा आएका जसपाका नेता कार्यकर्ताले बाजागाजासहित र्याली पनि गरेका थिए । र्यालीपछि आयोजित सभामा बोल्दै केन्द्रिय नेताहरुले जसपालाई कमजोर आकंलन नगर्न चेतावनी दिएका छन् भने, ओलीको प्रतिगमनको चर्को विरोध गरेका छन् ।

जसपाका क्षेत्रीय कार्यकारी सदस्य एवम संघीय सांसद राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति घोर आपत्ति जनाउनु भयो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक, असंवैधानिक मात्र नभएर प्रतिगमन नै भएको बताउनु भयो । यो प्रतिगमनविरुद्ध अब दलहरुको संयुक्त संघर्ष जरुरी रहेको उहाँको भनाइ छ ।

केपी ओलीले जनआन्दोलनको परिणमस्वरुप प्राप्त संघीयता गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकताजस्ता उपलब्धि मेट्न लागेको हुँदा त्यसका विरुद्ध सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले राजाले दिएको संविधानमा भाग लिन जाँदा कांग्रेसले प्राप्त गरेको सरकार गुमाउनुपरेको स्मरण गर्दै अब केपी ओलीको पनि त्यही हालत हुने उहाँको चेतावनी छ ।

संविधानले हरेक पाँच बर्षमा निर्वाचन हुने ब्यवस्था गरेको स्पष्ट थाहा हुँदा हुँदै ओलीले साढे ३ वर्षमै निर्वाचन गर्न खोजेर संविधानकै धज्जी उडाएको उहाँले बताउनु भयो । वैशाखमा चुनाव गर्न खोजेर के गरेको ? यो चुनाव किन र के का लागि ? भन्दै उहाँले प्रश्न गर्नु गर्नुभयो । ओलीले निर्धारण गरेको समयमा चुनाव नहुने उहाँको जिकिर छ । नेता श्रेष्ठले संसद पुर्नस्थापना नभए सिंगो मुलुक नै अंध्यारो खाल्डोमा जाकिने बताउनु भयो । श्रेष्ठले नेकपा ओली समुहका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दुई जिब्रे चमेरोको संज्ञा दिनु भयो ।

जनता समाजबादी पार्टी लुम्बिनी प्रदेशका सचिव हिमानी थापा मगरले बहुजातिय र बहुसांस्कृतिक भएकोले देशको राष्ट्रिय एकताको लागि पहिचानसहितको संघयिता हुनुपर्नेमा जोड दिदै ओलीले यसलाई सिध्याउन खोजेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री असंवैधानिक कदम सबैभन्दा खतरानाक रहेकोसमेत बताउनु भयो ।

केन्द्रिय सदस्य दानबहादुर चौधरी, सहसराम यादव, नारायण खनाल, डा.केपि शर्मा लगायतका बक्ताहरुले देशको अभिभावकको रुपमा रहेका राष्ट्रपति र प्रधानमन्त्रीले जनताको चित्त दुखाएकोमा गुनासो गरे । पार्टीमा आफूहरु मिल्न नसक्दा त्यसको रिसमा ओली, प्रचण्ड–माधवले देशलाई बर्बादीतिर लगेको समेत उनीहरुको भनाई छ । जे .पी खनालको स्वागत मन्तव्य रहेको सभाको सञ्चालन चोपलाल राहुलले गर्नुभएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७७ बुधबार ००:००  ५ : ५८ बजे