मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिले मुलुकको लोकतन्त्र खतरामा परेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुको अगुवा कार्यकर्ता तथा विस्तारित भेलालाई मंगलबार बाणगंगामा सम्बोधन गर्दै ज्ञवालीले संसद पुर्नस्थापना नभए मुलुकको भविष्य नै अन्यौलमा जाने बताउनु भएको हो । नेकपा प्रदेश इन्चार्ज समेत रहनु भएका उहाँले केपीकोे निरनकुंशता अब धेरै समय नटिक्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा उहाँले ओलीका दुई प्रवृत्ति र अपराधको खुलेर विरोध गर्नुभयो । उहाँले भन्नुभयो- ‘कम्युनिष्ट पार्टीमा पहिलो र देश, जनता र लोकतन्त्र माथि ओलीले अर्को अपराध गरेकाले ओलीलाई अपराधी भन्दा केही हुँदैन । यो कम्युनिष्ट आन्दोलनमा क्षमा दिने खालको अपराध होइन । इतिहासले सधैँ ओलीलाई धिक्कार्ने छ । उनको अहम र निरंकुश प्रवृत्तिले उनै स्वयमलाई सिध्याउँछ ।’
संबिधान बिपरित मनपरि संसद बिघटन गरेपछि ओलीको नक्कली राष्ट्रबादको पर्दाफास भएको उहाँको ठम्याइ छ । पछिल्लो समय देखिएका बिभिन्न घटनाले उनको राष्ट्रवाद छताछुल्ल भएको ज्ञवालीको भनाई छ ।
उहाँले केपी ओलीको प्रतिगमन विरुद्ध चुप लागेर नबस्ने भन्दै सडक संर्घषबाट नै संसद पुर्नरस्थापना भएरै छाड्ने ठोकुवा गर्नुभयो । ओलीमा देखिएको अहम् प्रवृत्तिले पार्टी र मुलुक नै संकटमा गएको उहाँको भनाई छ ।
उहाँले देश, जनता र संविधानको रक्षाका लागि अझै पनि बलिदानी गर्न आफूहरु तयार रहेको समेत बताउनु भयो । आगामी वैशाखमा कुनैपनि हालतमा चुनाव नहुने बताउँदै नेता ज्ञवालीले चुनाव हुने सपना नदेख्न ओलीलाई चेतावनी दिनुभयो ।
कार्यक्रममा बोल्दै पूर्बमन्त्री एबम स्थायी कमिटी सदस्य चक्रपाणी खनाल (बलदेब)ले संसद बिघटन गरेर ओलीले मुलुकलाई संकटमा धकेलेको बताउनु भयो । जनताको अपेक्षा पुरा गर्न छोडेर सत्ता टिकाउने खेलमा ओली लागेकाले सबै मिली उनलाई घुँडा टेकाउनु पर्ने उहाँको भनाई छ ।
पार्टी एकता विपरित ओलीले काम गर्दा आफूहरुको समाजवादको लक्ष्यमा नै घात भएको समेत उहाँले बताउनु भयो ।
केन्द्रिय सदस्य ठाकुर गैरेले पनि ओली निरंकुश भएको बताउनु भयो । ओलीको निरंकुशता र तानाशाही प्रवृत्तिले पार्टी र मुलुक नै अप्ठेरो स्थितिमा गुज्रिएको उहाँको भनाई छ । यो निर्वाचन हुने निर्वाचन नभएकाले भ्रममा नपर्न नेता कार्यकर्तालाई उहाँको आग्रह छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी, जिल्ला सचिव रामचन्द्र शाह (विष्णु), नेता विष्णु वेलबासे, सिद्धार्थ क्याम्पसका स्वाबियू सभापति शुसिल खत्री लगायतले बोल्दै मुलुक नेकपामय भएको बताए । देशलाई समृद्धिको बाटोमा लम्काउने बेला ओलीले लोकतन्त्रमाथि गरेको हमलाले जनतामाथि बिश्वासघात भएको उनीहरुले बताए ।
कार्यक्रममा बिभिन्न स्थानबाट आएका १ हजार बढी नेता कार्यकर्ताको सहभागिता थियो । सभापछि बसेको विस्तारित वैठकले केहीको कारबाही फुकुवा गरेको छ भने बुटवलमा हुने आम सभाको लागि तयारी समेत गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया