९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रुकुम पश्चिमको प्रहरी कार्यालयमै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप



रुकुम पश्चिम ।

दुई राजनीतिक दलका कार्यकर्ताबीचको विवाद समाधानका लागि प्रहरी कार्यालयमा भइरहेको छलफलका क्रममा तीन जना वडाध्यक्ष कुटिएका छन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्ष फरक–फरक पार्टीका कार्यकर्ताबाट कुटिएको बताइएको छ । स्थिति नियन्त्रणमा लिन नौ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

आठबीसकोट नगरपालिकामा नेकपा दाहाल–नेपाल समुह र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएको थियो । उहाँलाई वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलममा सहभागी नेपाली कांग्रेसका नगर सभापति कमल शाहले बताउनुभयो ।

शाही नेपाली कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुन् । वडाध्यक्ष शाहीमाथि आक्रमण भएपछि नेपाली कांग्रेस समर्थित कार्यकर्ताले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आक्रमण गरेको जनाइएको छ । प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले नौ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।

जिल्लाबाट प्रहरी निरीक्षक इन्स्पेक्टर कपिल शाहीको नेतृत्वमा थप प्रहरी पठाएपछि अहिले स्थिति नियन्त्रणतर्फ छ । झडपमा एक प्रहरी सहायक निरीक्षक असई, एक जना सशस्त्र प्रहरीका एक जवानसहित दुवैतर्फका केही कार्यकर्ता घाइते भएको बताइएको छ । स्वास्थ्यकर्मी बोलाएर उनीहरुको प्रहरी कार्यालयमै उपचार भइरहेको छ । घाइतेहरुको पूरा विवरण प्राप्त भएको छैन । प्रहरीले वडा अध्यक्षद्वय केशरमान र मानबहादुरलाई नियन्त्रणमा लिएको बताइएको छ ।

विवाद सहमति नजिक पुगेका बेला एक पक्ष भड्किएर झडपको अवस्था आएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो । विवाद सोमबार बेलुकादेखि नै सुरु भएको थियो । स्थिति पूर्णरुपमा नियन्त्रणमा आउने बित्तिकै दोषीमाथि कारबाही गरिने उहाँले बताउनुभयो । आठबीसकोटमा खानेपानी, बस काउण्टरलगायतका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच पटक–पटक विवाद र झडप हुँदै आइरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७७ मंगलबार ००:००  २ : ५९ बजे