९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

यस्तो छ आजको मौसमी पूर्वानुमान



काठमाडौँ ।
देशका पहाडी भू–भागमा सोमबारको मौसम पनि आंशिक बदली रहने भएको छ । यसबाहेक बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


सोमबार राति केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका हुन् ।

विशेष गरी देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै देशको विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू–भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७७ सोमबार ००:००  ७ : ४६ बजे