बुटवल ।
नेकपा प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले ‘सेटिङ’ वाहेक अरुले प्रतिनिधि सभा पुनर्स्थापनालाई रोक्न नसक्ने दाबी गर्नुभएको छ ।
प्रतिनिधि सभा विघटन असंवैधानिक र गलत छ भन्ने सामान्य खेलपढ गर्नसक्नेलाई पनि थाहा भइसकेको अवस्थामा पुनर्स्थापनाको विकल्प नभएको उहाँले बताउनुभयो ।
‘संविधानलाई च्यातिन नदिन र देशलाई फेरि सही ट्रयाकमा ल्याउन प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्पै छैन’ आज रुपन्देहीको मणिग्राममा नेकपा तिलोत्तमा नगर कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै भुसालले भन्नुभयो, ‘सेटिङ वाहेक अरु कुनै तरिकाले पुनर्स्थापना रोकिन्न ।’
पुर्वमन्त्री भुसालले प्रतिनिधि सभा पुनर्स्थापना नभए देश अनिश्चयको डरलाग्दो भूमरीमा फस्ने खतरा औंल्याउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याएर प्रभावित पार्ने र जबरजस्ती विघटनलाई वैधता दिलाउन लागिपरेको भन्दै उहाँले त्यसलाई रोक्न आफूहरु र विपक्षी दलहरु आन्दोलनमा उत्रिनुपरेको उहाँले बताउनुभयो ।
पद नपाएर नेताहरुले विवाद गरेको भनेर प्रधानमन्त्रीले लगाउने गरेको आरोप गलत भन्दै भुसालले ठूलादेखि पियनसम्म सबै पदमा आफ्नै गुटको मान्छेलाई मात्रै नियुक्ति दिने र सबै चिज आफ्नो नियन्त्रणमा राख्न चाहने प्रधानमन्त्री ओलीको तानाशाही सोच समस्या भएको बताउनुभयो ।
प्रतिनिधि सभा पुनर्स्थापना भए पार्टी एकता पनि जोगिने, तर ओलीको ‘अपराध’बारे समीक्षा गर्ने र उनी सजायको भागिदार बन्नुपर्ने भुसालले बताउनुभयो ।
प्रतिक्रिया