९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सरकार अधिनायकवादको उत्कर्षमा पुग्योः चन्द्र भण्डारी



परासी ।
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बहुमत प्राप्त हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दा लोकतन्त्रको घाँटी रेटिएको टिप्पणी गर्नुभएको छ ।

पश्चिम नवलपरासीको सुनवलमा शनिबार आयोजित विरोधसभामा बोल्दै भण्डारीले ओली नेतृत्वको सरकार अधिनायकवादको उत्कर्षमा पुगेको पनि बताउनुभयो । लोकतन्त्रको रक्षा र जनअभिमतको कदर गर्न कांग्रेसले सडक संघर्ष चर्काउन परेको उहाँले बताउनुभयो ।

कांग्रेस निर्वाचनमा जान तयार भए पनि जनमतको कदर नगर्ने ओली नेतृत्वको सरकारविरुद्ध खबरदारीमा उत्रिएको उहाँको भनाइ थियो ।

‘जनताले सुम्पिएको जिम्मेवारी बहन गर्न नसक्ने नेकपा पार्टी अब पतनको दिसातर्फ अग्रसर भएको छ,’उहाँले भन्नुभयो,‘लोकतन्त्रको रक्षा गर्न कांग्रेस पार्टीको विकल्पमा अरु शक्ति नभएको भन्दै लोकतन्त्र र जनताको पक्षमा काम गर्न लागिपरेका छौं ।’

कांग्रेस पश्चिम नवलपरासीले आजै सदरमुकाम कावासोतीमा पनि विरोध प्रदर्शन गरेको छ । विरोधसभामा केन्द्रीय सदस्य पुष्पा भुषाल र देवेन्द्रराज कँडेलले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७७ शनिबार ००:००  ७ : ३१ बजे