अर्घाखाँची ।
ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीलाई विभाजन गरेर पुष्पकमल दाहाल र माधव नेपालले गद्दारी गरेको आरोप लगाउनुभएको छ ।
आफैंले बनाएको पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई ढाल्न खोज्दा दाहाल–नेपाल आफैं सडकमा पुगेको उहाँले दाबी गर्नुभएको छ ।
ओली पक्षीय नेकपाले शनिबार सन्धिखर्कमा गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले दाहाल प्रधानमन्त्री, माधव नेपाल पार्टी अध्यक्ष र झलनाथ खनाल राष्ट्रपति कसरी हुने भन्ने बाहेक अरु केही सोच नभएको दाबी गर्नुभयो ।
ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर हुन नपाएपछि सडकमा दाहाल–नेपालले रोइलो गरेको बताउनुभयो । ‘सरकारलाई सफल पार्ने, देशलाई समृद्धितर्फ लैजानेतर्फ उहाँ (दाहाल–नेपाल) को ध्यान पटक्कै छैन,’ उहाँले भन्नुभयोे, ‘ओलीलाई अपदस्थ गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने लोभ बाहेक केही छैन । सडकमा गएर ठूलो भूल गर्नुभयो ।’
सडकमा गएर सिंहदरबारतिर ढुंगा हान्नु नै दाहाल नेपाल पत्तासाप हुने दिशामा रहेको उहाँले दाबी गर्नुभयो । काम गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गर्नुको विकल्प नभएको बताउँदै उहाँले हिम्मत भए अब वैशाखमा हुने चुनाव जितेर प्रधानमन्त्री बन्न दाहाललाई रायमाझीले चुनौती दिनुभयो । सत्ताको लोभी भएकै कारण आफूले दाहाललाई छाड्न बाध्य भएको मन्त्री रायामाझीले दाबी गर्नुभयोे ।
कार्यक्रममा खानेपानी मन्त्री मणि थापाले देशका लागि दाहाल गद्दारी नेता भएको आरोप लगाउनुभयो । दाहाल–नेपालले पार्टी विभाजन गरेर सडकमा गएर देशको विकास र कम्युनिष्ट विरोधी कार्य गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया