मायादेवी अनलाइन, चार नम्बर ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य अत्तहर कमाल मुसलमानले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण संसद विघटन भएको बताउनु भएको छ । केपी शर्मा ओलीमा भएको सत्तालिप्सा, स्वार्थ, दम्भ, अहंकार र स्वेच्छाकारिताले गर्दा जनताको काम गर्ने थलो प्रतिनिधि सभा भंग भएको उहाँले बताउनु भएको हो ।
थारु कल्याणकारिणी सभा बाणगंगा नगर कमिटिले शुक्रबारबाट सुरु गरेको तेश्रो माघी तथा खिचडी महोत्सवलाई सम्बोधन गर्दै उहाँले पछिल्लो ओली कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनु भयो । संविधानमा हुँदै नभएको धारा प्रयोग गरेर ओलीले संसद विघटन गरेकोमा उहाँको खेद छ ।
चौतर्फी ओली कदमको आलोचना भइरहेको भन्दै अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले भन्नुभयो ‘संसद ब्यूतनु पर्दछ । मलाई सर्बोच्च अदालतको भरोसा छ ।’ तर उहाँले अदालतले संसद ब्यूताए पनि ओलीले संकटकाल लगाएरै शाषन चलाउने जिकिर गर्नुभयो ।
उहाँले थप्नुभयो ‘ओलीमा सत्तामा टाँसिरहने त्यतिधेरै भोक छ । उनी पंचायति शाषकभन्दा कम छैनन् । जे पनि गर्न सक्छन् । अदालतले ब्यूताए पनि उनी संकटकाल लगाएर शाषन चलाउन पछि पर्ने छैनन् ।’
वैशाखको चुनाव ओलीको नौटंकी मात्र भएकाले त्यस्तो चुनावले मुलुकलाई निकास नदिने उहाँको भनाई छ । दुई तिहाइको सरकारलाई काम गर्न दिइएन भन्नु हास्यास्पद भएको भन्दै उहाँले नेकपाका आन्तरिक किचलोले मुलुक दुर्घटनातर्फ उन्मुख भएको समेत बताउनु भयो ।
बिभिन्न भ्रष्टाचार र काण्डौकण्डमा फसेपछि ओली सरकार चलाउन असफल भएको समेत उहाँको आरोप छ । मुलुकमा अहिले सदन नभएको बताउँदै अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गरे पनि ओलीले संकटकाल लगाएर शाषन चलाउने कमालको जिकिर छ । ओली निरंकुश शैलीमा अगाडी बढेको भन्दै यसले कुनै पनि हालतमा मुलुक र जनताको विकास नहुने उहाँको ठोकुवा छ । ओली शाषनबाट मुलुक तत्काल नउम्किए झन ठुलो दुर्घटना निम्तने उहाँले अनुमान समेत गर्नुभयो ।
खिचडी महोत्सवमा बोल्दै मुसलमानले प्रजातन्त्रमा सबै जातजातिको विकास सुनिश्चित भएको बताउनु भयो । मुलुकमा प्रजातन्त्र र लोकतन्त्र भएकै कारण सबैका अधिकार सुनिश्चित हुन सकेको पनि उहाँले बताउनु भयो । थारु जातिहरु नेपालका धर्तीपुत्र भएको हुनाले अब उनीहरुलाई शिक्षाको दायरामा ल्याउने र राजैतिक अधिकार सुनिश्चित गर्ने कार्य राज्यको भएको बताउनु भयो ।
प्रतिक्रिया