मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह वाणगंगा नगरभित्रका वडा कमिटीको विस्तारित बैठक र प्रशिक्षात्मक भेलामा सक्रिय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी असंबैधानिक कदम चालेको बारे गाउँ गाउँका कार्यकर्तालाई जानकारी दिन नेकपा वाणगंगा वडा कमिटीका भेलामा सक्रिय रुपमा जुटेको हो ।
शुक्रबार (आज) नगरको वडा नं. ९, वडा नं. ८ र वडा नं. ६ को वडा भेला सम्पन्न भएको छ । वडा कमिटीसंगै अगुवा कार्यकर्ताको उपस्थिती रहेको भेलामा नेकपाका प्रदेश तथा जिल्ला कमिटीका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
वडा नं. ९ को वडा कमिटी बैठकमा जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले सम्बोधन गर्नुभएको थियो भने आगामी दिनमा जिल्ला पार्टीले गर्ने संघर्षका कार्यक्रममा सक्रिय रुपमा उपस्थित गराउने निर्णय भएको जनाइएको छ ।
वडा नं. ८ को वडा कमिटी भेलालाई नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य जनी बञ्जाडे, जिल्ला सचिवालय सदस्य तथा वाणगंगा इन्चार्ज देवराज अर्याल, जिल्ला सचिवालय सदस्य तथा नगर सचिव टेकेन्द्र कुमार क्षेत्री, जिल्ला सदस्य टेकबहादुर विक, युवा नेता कमल भट्टराई लगायतले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चालेको कदम विरुद्ध डटेर सामना गर्न आग्रह गर्नुभएको थियो ।
वडा कमिटी अध्यक्ष प्रेम बहादुर विकको अध्यक्षतामा भएको भेलामा वडा कमिटी सदस्य लक्ष्मी केसीले स्वागत र विद्यार्थी नेता भागिरथ न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।
यता वडा नं. ६ का वडा कमिटी अध्यक्ष नम नारायण उपाध्यायको अध्यक्षतामा भएको भेला तथा प्रशिक्षणमा जिल्ला सचिवालय सदस्य देवराज अर्याल, नगर सचिव टेकेन्द्र कुमार क्षेत्री, युवा नेता कमल भट्टराई, विद्यार्थी नेता दिपक अनुरागी लगायतले समसमायिक राजनीतिको बारे जानकारी गराउँदै सरकारले चालेको प्रतिगामी कदम विरुद्ध लाग्न आग्रह गर्नुभएको थियो ।
यता शनिबार वाणगंगाका तीन वडामा कार्यक्रम आयोजना गरिएको नेकपा वाणगंगा नगर कमिटीले जनाएको छ ।
प्रतिक्रिया