९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमसीसीलाई बन्धक नबनाऔंः टोपबहादुर रायमाझी



बुटवल ।

ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसी लागू गर्नेरनगर्नेबारे तत्काल निर्णय गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसीबारे निर्णय लिइहाल्नुपर्ने बताएका हुन् ।

‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुपर्‍यो, नत्र लागू गर्नुपर्‍यो । हुन्छ कि हुन्न भनेर कुरिराख्न भएन,’ उनले भने, ‘कुर्ने एक सेकेन्ड फुर्सद छैन ।’ उर्जामन्त्री रायमाझीले आउँदो जेठसम्म ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको बताए । यसले गर्दा दैनिक एक अर्बबराबरको घाटा लाग्न सक्ने उनको भनाइ छ ।

‘एमसीसी राष्ट्रहितको विपरीत नै छ भने दल, नागरिक समाज एक ठाउँ होऔं । त्यसलाई खारेज गरौं र राष्ट्रिय स्रोतबाट लाइन विस्तार गरौं,’ उनले भने, ‘एमसीसीलाई बन्धक नबनाऔं । अबको एक वर्षमा उत्पादन हुने विद्युत् बेच्ने आधार तयार गरौं ।’ अर्को एक प्रसंगमा मन्त्री रायमाझीले नेकपा अन्तर्द्वन्द्वका कारण सरकारविहीनताको अवस्था आएकाले त्यसलाई बचाउन आफू सरकारमा गएको बताए । ‘आफ्नै दलभित्रको विवाद मिलाउन नसकेर दाहाल–नेपाल सडकमा ढुंगा हान्न जानुभयो,’ उनले भने, ‘म उपलब्धि संस्थागत गर्न सरकारमा गएँ, फरक त्यत्ति हो ।’

जनताले विकास र संवृद्धि प्राप्ति गर्न पठाएका बेला पार्टीभित्रको द्वन्द्व समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमतविपरीत रहेको उनले बताए । चुनावमा जाने र ताजा जनादेश लिएर सरकार चलाउछुँ भन्नु लोकतन्त्र र संविधानविपरीतको काम नभएको उनको तर्क छ ।

प्रकाशित मिति : २ माघ २०७७ शुक्रबार ००:००  १ : ३१ बजे