काठमाडौं ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि अनुशासनको थप कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको छ । विघटनलाई असंवैधानिक भनेको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको छ । यस्तै संसदीय दलको नेताबाट ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
ओली समूहले भने प्रचण्डको कार्यकारी अधिकार खोसेर केन्द्रीय कमिटी विस्तार गरेको छ । दुबै समूहले अरु कारबाही गरेको छैन र, आफूहरु नै आधिकारिक भएको दाबी गर्दै आएको छ ।
तर ओलीले गुटगत गतिविधि गर्दै अनुशासन उल्लंघन गरेकाले थप कारबाही गर्नुपर्ने अवस्था आएको अध्यक्ष नेपालले बताए । नेपाल वुद्धिजीवी संगठनले बिहीबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘थप कारबाही गर्नुपर्ने अवस्था बनिरहेको छ । यसबारे स्थायी कमिटीको बैठकले गम्भीर छलफल गर्छ ।’
नेताहरुका अनुसार शुक्रबार बस्ने प्रचण्ड–समूहको स्थायी कमिटी बैठकमा यसबारे प्रस्ताव आउनसक्छ ।
अध्यक्ष नेपालले ओलीसँग फेरि मिल्ने सम्भावना नरहेको समेत बताए । ‘धेरै मानिसहरुको मनमा आशंका रहेको छ, फेरि दुवै मिल्छन् कि क्या हो ? भित्रभित्रै केही भइरहेको छ कि ? किनभने बामदेव कमरेड केपीलाई सुधार्छु, मिलाउछु भनेर लाग्नुभएको छ’ अध्यक्ष नेपालले भने, ‘कमरेड प्रचण्डले मिलाउन खोज्दा खोज्दै भन्नुहुन्थ्यो तेल घस्दाघस्दै कुकुरको पुच्छर बाङ्गो, सोझो हुँदै भएन । अब बामदेवले बालुवा पेलेर तेल निकाल्न खोज्दै हुनुहुन्छ । केही निक्लिनेवाला छैन ।’
यो जुनीमा केपी ओली सुध्रिएलान भन्ने आफूलाई नलागेको भन्दै उनले भने, ‘उहाँलाई सुधार्न सकिन्छ भन्ने कसैलाई लाग्या छ भने त्यो भ्रम मात्रै हो । भ्रम नराखे हुन्छ ।’
नेकपाको दुबै समूहलाई फेरि मिल्न दबाव दिँदै नेता बामदेव गौतमले अनियान नै चालिरहेका बेला अध्यक्ष नेपालले ओली सुध्रिएर नेकपाका दुबै समूह फेरि एक हुने भन्ने भ्रम मात्रै रहेको बताएका हुन् ।
ओली प्रवृत्ति लोकतन्त्र विकासको बाधक र राजनीतिक पद्धतिमा अवरोधक भएको उल्लेख गर्दै उनले भने, ‘उहाँ रहेसम्म यो देश संकटमा नै गुज्रिरहन्छ । उहाँलाई बरु आनन्दका साथ विश्राम गरेर बस्नका लागि वामदेव कमरेडले पनि भन्नुहोस् । अब उहाँको बोझ यो देशले बोक्न सक्दैन ।’
प्रतिक्रिया