९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र तोक्नुपर्छः माधवकुमार नेपाल



काठमाण्डौ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरू तोक्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र किटान गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो । नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिदैँ ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।

विभिन्न क्षेत्रलाई प्राथमिकीकरण गर्दै अघि बढे पनि आर्थिक विकासका लागि मानव संसाधन पनि महत्त्वपूर्ण हुने भन्दै उहाँले शिक्षित र दक्ष नागरिक आवश्यक रहेको बताउनुभयो । अध्यक्ष नेपालले देश कस्तो बनाउने भन्ने कुरा सरकारले चाहेर मात्रै नहुने भन्दै सिङ्गो प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । प्रणाली बनाउने कुरामा सरकारको भूमिका हुने भए पनि सरकार गम्भीर नभएको उहाँको भनाइ छ । देशको समस्या पहिचान गर्न सकिएन भने समस्या समाधान गर्न नसकिने भन्दै उहाँले देशमा देखा परेको समस्या पत्ता लगाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालमा उत्पादन हुने वस्तुहरू विदेशबाट आयात रोक्नुपर्ने बताउनुभयो । आयात प्रतिस्थापन गर्ने वस्तुहरूलाई विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । विदेशबाट फर्किएकाहरूको सीप, अनुभव, ज्ञान तथा पुँजी नेपालमै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १ माघ २०७७ बिहिबार ००:००  ४ : १२ बजे