लमजुङ ।
हिमाली जिल्ला मनाङमा अहिले तापक्रम सामान्यतया शून्य वा त्यो भन्दा तल छ । पुस लागेयता त हरेक रातको तापक्रम माइनसमा रेकर्ड भएको छ । माइनस तापक्रममै यहाँ आगलागी पनि भइरहेको छ । आगलागीले हालसम्म करिब ७ सय हेक्टर वन क्षेत्र सखाप भएको प्रारम्भिक अनुमान छ ।
नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङका अनुसार थान्चोक र कोतोको पारिपट्टि रहेको कोटेबाट आगलागी सुरु भएको हो । आगो अहिले रैंदु जंगलमा फैलिएको छ । ‘सुकेको पातपतिंगर र सालको काठमा आगो सल्किएको छ, निभाउन सकिएको छैन,’ उनले भने, ‘आगोलाई गाउँतिर आउन नदिन अनेक उपाय लगाएका छौं । जंगल भने सखापै बनायो ।
मंसिर ११ देखि आगलागी भइरहेको छ । आगलागी भइरहेको ठाउँ हिउँ पर्ने र जम्ने ठाउँ हो । तर यस वर्ष हिउँ खासै परेको छैन । एक साताअघि भ्राताङदेखि माथिल्लो क्षेत्रमा मात्रै हिमपात भएको थियो । आगलागी भइरहेको ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्छ । एक्यापको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार आगलागी डरलाग्दो गरी फैलिएको छ । मर्स्याङ्दीको किनारदेखि पहाडको टुप्पोसम्म जंगल सखाप बनाएको छ ।
आगलागी फैलिएर ३ हजार ५ सय मिटर उचाइसम्म पुगेको छ । तर आगलागी भएको सबै ठाउँमा पुग्न भने नसकिएको बताउँछन् एक्याप लमजुङका प्रमुख लेखनाथ गौतम । ‘मनाङमा तापक्रम रातको समयमा माइनस छ ।
उनका अनुसार हिउँ नपरेकाले जमिन सुक्खा छ । पातपतिंगर सुकेर झरेका छन् । ‘मंसिर ११ बाट सुरु भएकामा पुस १३ मा आगलागीले उग्ररूप लियो,’ उनले भने, ‘कम्तीमा २ सयदेखि ३ सयवटा झारल, घोरलको बासस्थानलाई असर पुर्याएको देखिन्छ । बहुमूल्य जडीबुटी पनि सखाप बनाएको अनुमान गर्न सकिन्छ ।’ आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।
उक्त क्षेत्रमा घोरल, झारल, कस्तुरी, मृग, थार, हिमचितुवाजस्ता जनावर पाइने एक्यापले जनाएको छ । यार्चागुम्बु, पाँचऔंले, नीरमसी, कुटकी, पदमचाल, पाँचऔंले, वनलसुनलगायत जडीबुटीसमेत पाइन्छ । ‘कति वन्यजन्तु, वनपैदावार र जडीबुटीमा क्षति पुग्यो भन्ने त अनुमान मात्रै गर्न सक्छौं, यकिन गर्न सकिएको छैन,’ एक्याप प्रमुख गौतमले भने । उनले आगो सल्काउनेको खोजी भइरहेको बताए ।
आगलागी नियन्त्रणमा लिन ५ सय मिटर लामो र ३ मिटर चौडाइको अग्निरेखा बनाइएको छ । ‘आगोलाई मानव बस्तीमा आउन नदिन अग्निरेखा बनाएका छौं । टेलिफोनको टावरलाई सुरक्षित राखिएको छ । जंगली जनावर, काठदाउरा र जडीबुटी नाश भए । सायद बस्तीमा आउँदैन होला,’ उनको आकलन छ ।
उनले ठाडो भीरमा जान नसकिएको र त्यही ठाउँमा आगो फैलिरहेको बताए । आगो निभाउन ताचै गाउँका करिब ५५ घरधुरीका स्थानीय दैनिक खटिएका छन् । सेना, प्रहरी, एक्यापका कर्मचारी गरी दैनिक १ सयदेखि डेढ सय जना खटिरहेको प्रजिअ लामिछानेले बताए । आगो निभाउन बेल्चा, गैंची, आगो निभाउने साधन, स्याउलालगायत प्रयोग गरिएको छ ।
प्रतिक्रिया