९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुसहितका तराईका जिल्लामा विहानैबाट शितलहर, जनजीवन प्रभावित



मायादेवी अनलाइन, चार नम्बर ।

विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण कपिलवस्तु लगायत तराईको जनजीवन प्रभावित भएको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।

पश्चिमी वायुका कारण साम्य हुन लागेको जाडो पुनः दोहोरिएको छ । तराईका जिल्लामा अहिले दैनिकरुपमा बढेदै गएको जाडोका कारण जनजीवन निकै प्रभावित भएका छन् । चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् ।

निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, चार नम्बर, ओदारी, तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् ।

यता जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेका छन्। बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेका देखिन्छन् ।

चिसोकै कारण कपिलवस्तुको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको चिकित्सकहरु बताउँछन् । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको बताइन्छ ।

चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको स्वास्थ्यकर्मी झाले बताए। जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ।

यसैबीच जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसान पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकामा चिन्तित भएका छन् ।

यस्तै आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुनेगरेको छ।

प्रकाशित मिति : २९ पुस २०७७ बुधबार ००:००  ६ : ३४ बजे