एजेन्सी
भारत र अस्ट्रेलियाबीच सिड्नीमा भएको तेस्रो टेस्ट बराबरीमा रोकिएको छ ।
सिड्नी टेस्टको अन्तिम दिन भारतले जितका लागि चार सय सात रन बनाउनुपर्ने थियो । यद्यपि खेल सकिँदासम्म भारतले पाँच विकेट गुमाएर तीन सय ३४ रन बनायो । भारतीय टिमका धेरै खेलाडी घाइते भएका कारण उसका लाग यो टेस्ट बराबरी गराउनु नै महत्त्वपूर्ण भएको छ ।
सिड्नी टेस्टको पाँचौँ तथा अन्तिम दिन चेतेश्वर पुजारा र ऋषभ पन्तको साझेदारीले खेल रोमाञ्चक स्थितिमा पुगेको थियो । तर उनीहरु आउट भएपछि रविचन्द्रन अश्विन र हनुमा विहारीले उत्कृष्ट खेल पस्कँदै अन्तिमसम्म टिकिरहे । यी दुईले ६२ रनको साझेदारी गरे । घाइते भएका बिहारीले एक सय ६१ बलमा २३ र अश्विनले एक सय २८ बलमा ३९ बनाए । यसअघि पुजारा र पन्तले पाँचौँ विकेटका लागि एक सय ४८ रनको उत्कृष्ट साझेदारी गरे ।
ऋषभ पन्त मात्र तीनले शतकबाट चुके । पुजारा पनि ७७ रन बनाएर आउट भए । पन्तले एक सय १८ बलमा १२ चौका र तीन छक्का प्रहार गरे । तर ९७ रनमा उनी अफ स्पिनर नाथन लायनको बलमा प्याट कमिन्सको हातबाट क्याच आउट भए । पुजाराले सम्हालिँदै दुई सय पाँच बलमा ७७ रन बनाए । उनी जो हेजलवुडको बलमा बोल्ट आउट भए । त्यो बेला भारतको योगफल दुई सय ७२ रन थियो ।
खेलको अन्तिम दिन भारतको सुरुवात राम्रो भएन र दोस्रो ओभरमा नै कप्तान अजिन्क्या रहाणे आउट भए । पाँचौँ दिनको दोस्रो ओभरको चौथो बलमा रहाणे नाथल लायनको बलमा शर्ट लेगमा उभिएका मार्नस लाबुशेनको हातबाट क्याच आउट भए । रहाणे मात्र चार रन बनाएर आउट भए । चौथो दिनको आफ्नो योगफलमा रहाणे एक रन पनि जोड्न सकेनन् । पुजारासँग रहाणेले तेस्रो विकेटका लागि २१ रन जोड्न सके ।
यद्यपि ऋषभ पन्त ब्याटिङ गर्न आएपछि भारतले केही राहत महसुस गर्यो । रविन्द्र जडेजाका साथै पन्त पनि घाइते थिए र चौथो दिनपछि उनले ब्याटिङ गर्ने पक्का भइसकेको थिएन । दोस्रो पारीमा रोहित शर्मा ९८ बलमा ५२, पाँच चौका, एक छक्का र शुभमन गिल ३१ रन ले राम्रो सुरुवात गरे । यी दुईले पहिलो विकेटका लागि ७१ रन जोडे । यही योगफलमा शुभमन गिल आउट भएको केही समयपछि रोहित शर्मा पनि आउट हुँदा चौथो दिनको खेल सकिँदासम्म भारतले ९८ रनमा दुई विकेट गुमाएको थियो ।
खेलको चौथो दिन अस्ट्रेलिया आफ्नो दोस्रो पारीमा ब्याटिङ गरिरहँदा भारतीय बलर मोहम्मद सिराजलाई फेरि अस्ट्रेलियाका समर्थकले अपशब्द बोल्दा खेल १० मिनेट रोक्न परेको थियो । अस्ट्रेलियाले आफ्नो दोस्रो पारीमा क्यामरन ग्रीनले ८४, स्टिभ स्मिथले ८२, लाबुशेनले ७३ र कप्तान टिम पेनले अविजित ३९ रनको मदतमा ६ विकेटको क्षतिमा तीन सय १२ रन बनाएर पारी सकिएको घोषणा गरेको थियो ।
अस्ट्रेलियाले पहिलो पारीमा तीन सय ३८ तथा भारतले दुई सय ४४ रन बनाएको थियो । तेस्रो टेस्ट ड्र हुँदा चार खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ ।
प्रतिक्रिया