काठमाडौँ ।
पृथ्वीनारायण शाहको प्रतिमा रहेको सिंहदरबारको पश्चिम गेट क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । सो क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आह्वानमा प्रतिमामा माल्यार्पणका लागि सहभागीहरु र्यालीसहित सिंहदरबार पश्चिम गेट तर्फ गएका छन् । प्रहरीले सो क्षेत्रका तैनाथी बढाए पनि सहभागी रोकिएका छैनन् ।
भद्रकाली–सिंहदरबार क्षेत्रको अवस्था अहिले ‘तनावग्रस्त’ छ । प्रहरीले रोक्न खोजेको छ भने सहभागीहरु अघि बढ्न खोजिरहेका छन् । प्रतिमा भएको क्षेत्रमा एक समूह प्रवेश दिइए पनि अरु समूहलाई बिच सडकमै रोखिएको छ । सहभागीले प्रहरी विरुद्ध नाराबाजी गरेका छन् । सो क्षेत्रमा आवातजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ। सडकपेटीमा हिँड्नेहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ।
प्रहरीको लाठी प्रहारबाट एक महिलाको टाउकोमा चोट लागेको छ । नागरिक तहबाट आज पुस २७ गते हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि समितिले कार्यक्रम गरेको हो ।
यो अभियानमा अभिनेत्री मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेतसहितको सक्रिय सहभागिता रहेको छ । प्रहरीले कोइरालासहितको टोलीलाई पनि अघि बढ्न दिएको छैन । समितिले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्व बुझिदिन पनि सबैसँग आग्रह गरेको छ।
प्रतिक्रिया