काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फेक न्यूज’लाई विषय बनाएर भाषण गरेका छन् । केही दिनअघि एउटा ‘स्क्रिन सट’ सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । जहाँ भनिएको थियो, ‘ओलीको शरीरमा स्त्री अंग मिसिएको हुँदा दिमागले काम गरेनः रावल’ । नेकपाका नेता भीम रावललाई जोडेर प्रकाशित सो समाचार झुटो रहेको सार्वजनिक भयो ।
तथ्य जाँचबाट उक्त समाचार ‘फेक’ भएको खुलेको थियो । रावलले पनि ट्वीटमार्फत त्यसलाई कुप्रचार भनेका थिए । आइतबार आफू निकट अनेरास्ववियूको भेलामा प्रधानमन्त्री ओलीले भने उक्त फेक समाचारकै विषयमा भाषण गरे । ‘एउटा नेताले चर्को भाषण गरेछन् । केपी ओलीले महिलाको किड्नी लाएर दिमागै बिग्रियो भनेछन्,’ ओलीले रावलको नाम नलिई भने ।
ओलीको भाषण सुरु भएदेखि नै हुटिङ गरिरहेका अखिलका कार्यकर्ताले त्यसलाई निरन्तर राखिरहेका थिए । ताली बजाएर ओलीलाई दिइरहेका थिए । ओलीको भाषणमा सहमति दिइरहेका थिए । हुटिङ पाएपछि ओली झन् जोसिए । उनले भाषणमा रावलको नाम भने लिएनन् । तर व्यक्तिगत टिप्पणी गरे ।
उनले भने‚ ‘महिलाको किड्नी लगाउँदा दिमाग बिग्रियो भनेपछि महिलाबाट जन्मिएको त्यो मान्छे पहिलेदेखि नै के होलारु म त्यतापट्टि जान चाहन्नँ । महिलामाथिको कत्रो अपमान हो- महिलाको किड्नीमात्रै लगायो भने पनि मान्छे पागल हुन्छ । त्यो दिन बेलुका श्रीमतिले तिनलाई कसरी खान दिइन् होला अचम्म लाग्छ मलाई । घरमा पुग्दा ढोका खोलेर स्वागत कसरी गरिन् होला, अचम्म लाग्छ । वरिपरि छिमेकका झ्यालबाट हेर्ने दिदिबहिनी महिलाहरुको अगाडि अनुहार कसरी देखाए होलान् । अचम्म लाग्छ ।’
नेकपा नेता भीम रावलले आधारहीन प्रायोजित र आफूप्रति घृणा फैलाउन प्रेषित सामग्रीमा टिप्पणी गरेबाट प्रधानमन्त्री ओलीले फितलो, भ्रम र झुटको सहारा लिने व्यक्तिका रूपमा पुष्टि गरेको बताए । ‘उहाँले प्रायोजित समाचार आफैं सिर्जना गर्ने, देशको प्रधानमन्त्री नेताले यति सतही र यस्तो काम गर्नुहुन्छ भने उहाँले के देशको नेतृत्व गर्नुहुन्छ’, रावलले भने, ‘राष्ट्रलाई सुविचारित ढंगले अगाडि बढाउनु होला भन्ने कसरी आशा गर्ने ?’
प्रतिक्रिया