चितवन ।
चितवनमा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षको अगुवा कार्यकर्ता भेला हुने भएको छ। भेला भरतपुर ७ मा रहेको नेकपा भरतपुर महानगर पार्टी कार्यलयमा हुने पार्टीका जिल्ला अध्यक्ष ईन्द्रजित परियारले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएको उक्त समूहले सोमबार बिहान ११ बजे चितवनमा कार्यकर्ता भेला आयोजना गरेको हो ।
भेलालाई पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने छन् । नेकपा स्थायी कमिटि सदस्य भीम रावल, योगेश भट्टराई, केन्द्रीय सदस्य रामकुमारी झाक्री, नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल लगायत जिल्लाका नेता कार्यकर्ताको उपस्थित रहने परियारले बताए ।
उनले जिल्लाका नेता कार्यकर्ताहरुलाई भेलामा उपस्थित भई भव्य रुपमा कार्यक्रम सफल बनाउन आव्हान गरेका छन् । पाटीको कार्यक्रम जुधेछ नि भन्ने हाम्रो प्रश्नमा पार्टी अध्यक्ष परियारले भने, ‛महानगरपार्टी कार्यालयमा हुने भेला नै आधिकारीक हो अन्य कार्यक्रमको बारेमा मलाई थाहा छैन ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले दोश्रो चरणको आन्दोलनको घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माघ २३ सम्मका लागि विरोधका कार्यक्रम घोषणा गरिएको हो । प्रतिनिधि सभा विघटनविरुद्धको संघर्षका कार्यक्रम केन्द्रदेखि वडा तहसम्म हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
दोश्रो चरणको संघर्षका कार्यक्रम सोमबारबाट सुरु भई माघ २३ मा सकिने भएको छ । विरोध प्रर्दशन वडा, गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेश, केन्द्र सबै तहमा गरिने भएको छ । पुस ३० मा देशभरका सबै वडा, माघ ५ गते सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा गरिने भएको छ। माघ १६ गते पाँचवटा प्रदेशमा (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) विरोध प्रदर्शन र सभा गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । माघ १७ गते प्रदेश २ मा विरोध प्रदर्शन र सभा गरिने भएको छ। दोश्रो चरणको आन्दोलनको अन्तिम दिन माघ २३ गते केन्द्रीय राजधानीमा विरोध प्रदर्शन र सभा हुने भएको छ। गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भर्ई कार्यक्रमहरु गरिरहेको छ।
प्रतिक्रिया