मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको जनता नमूना माध्यमिक विद्यालय पिपरामा ब्यक्ति र ब्यक्तित्व उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालयमा सम्पन्न कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदुत दीप कुमार उपाध्यायसंग विद्यार्थीले विभिन्न सवालजवाफ गरेका थिए ।
लामो समयदेखि राजनीतिमा होमिनु भई मन्त्री समेत भैसक्नु भएका उपाध्यायलाई विद्यार्थीले सफल मन्त्री कसरी बन्न सकिन्छ भन्ने प्रश्न गरेका थिए ।
जवाफमा उपाध्यायले २ पटक मन्त्री भएर काम गरेको बताउँदै मन्त्री भन्ने बित्तिकै सामान्य नागरिकले पनि कही न कही भ्रष्टचार गर्यो भनेर बुझ्ने गरेको जवाफ फर्काउनुभयो । इमान्दारिता नै सबै भन्दा ठूलो कुरा भएको भन्दै ब्यक्तिमा ईमान्दारीता नै हुनुपर्ने बताउनुभयो ।
पूर्वमन्त्री समेत रहनु भएका उपाध्यायले युवाहरुले नेतृत्व लिन चाहे पनि सजिलैसंग पाउने अवस्था नरहेको बताउनुभयो । उहाँले अब युवाहरु राजनीतिक गुटबन्दी र भागवण्डामा नपरी राष्ट्रको हितका लागि सोचेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
युवाहरु पनि गुटबन्दीमा परेर सत्यलाई नचिनेर असत्यको पछाडी लाग्ने गरेको चर्चा गर्दै अब देशका लागि युवाहरु तयार हुनुपर्ने समय आएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रअ रमेश पन्थीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । विद्यालयले ‘तपाईको अनुभव हाम्रो सिकाई’ भन्ने उद्धेश्य सहित अबबाट हरेक महिनाको शुक्रबार ब्यक्ति र ब्यक्तित्व उत्प्रेरणा कार्यक्रम संचालन गर्ने जनाएको छ ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता र शिक्षक उज्वल अधिकारीको संचालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया