७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

कपिलवस्तुको चार नम्बरमा मनाईयो टोपी दिवस, सरोकारवाला भन्छन् ‘टोपी नेपालीको परिचय हो’



मायादेवी अनलाइन, चार नम्बर ।

राष्ट्रिय नेपाली टोपी दिवस कपिलवस्तुमा पनि मनाइएको छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर मनाइने यस दिवसको अवसरमा मायादेवी मिडिया ग्रुप, बाणगंगा वैङ्कर्स क्लव र हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलको संयोजनमा बाणगंगा नगरपालिकाको चार नम्बरमा दिवस मनाइएको हो ।

मेरो टोपी मेरो गौरव, कार्यालय वा समारोहमा टोपीको प्रयोग गरौँ, संस्कृतिको संरक्षण गरौँ, राष्ट्रप्रति सबै बफादार बनौँ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । त्यसपछि भएको कार्यक्रममा बोल्ने वक्ताहरुले टोपी नेपालीहरुको पहिचान भएको भन्दै अनिवार्य प्रयोगमा जोड दिएका थिए ।

भाषा तथा साहित्यका जानकार तथा शैक्षिक ब्यक्तित्व कमल पौडेलले टोपीको महत्व र लगाउने प्रचलनको बारेमा जानकारी दिनुभएको थियो । उहाँले टोपी नेपालीको राष्ट्रिय पहिचान भएको हुँदा सबैले लगाउनु पर्ने बताउनु भयो ।

समाजसेवी डोलकराम घिमिरे र नेपाली शिक्षक तेज प्रसाद आचार्यले कपिलवस्तुमा टोपी दिवस मनाउने क्रम यस बर्षबाट सुरु भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । उहाँहरुले टोपी पहिचान भएको हुँदा बिभिन्न कार्यक्रम र समारोहमा टोपी लगाउनु पर्ने बताउनु भयो ।

हिलवर्ट स्कुलका प्रवन्ध निर्देशक बुद्धि पौडेलको सभापतित्व, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ, मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारी, बाणगंगा वैङ्कर्स क्लवका अध्यक्ष अनुराग पाण्डे लगायतका ब्यक्तित्वहरुको सहभागिता थियो । अर्को तर्फ एक दिन मात्र टोपी लगाएर दिवसको औचित्य नहुने भन्दै हर समय टोपी लगाउनु पर्नेमा सारेकारवालाले जोड दिएका छन् ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७७ शुक्रबार ००:००  ४ : ४१ बजे