७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

साढे १८ किलो अफिमसहित तीनजना पक्राउ



रुकुमपूर्व ।
प्रहरीले लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ । अठार किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भूमे गाउँपालिका–३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे–३ झुङ्लाबाङ घर भइ वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिद्धि बज्राचार्यले बताए ।

ताराप्रसाद र मन्सरामलाई यही पुस १४ गते सिस्ने–६ को छिप्रीदहस्थित होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोवार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दिपेन्द्र बाँनियाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख बज्राचार्यले बताए ।

उनीहरु दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा ताराप्रसादसँग अफिम कारोबारमा संलग्न भएका अर्का हिक्मतलाई पनि पाँच किलो ५०० ग्राम अफिमसहित पक्राउ गरिएको हो । उनलाई भने आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही पुस १४ गते पक्राउ परेका ताराप्रसाद र मन्सरामलाई अदालतमा पेश गरी १५ दिनको म्याद थप भइ अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ । (रासस)

प्रकाशित मिति : १७ पुस २०७७ शुक्रबार ००:००  ९ : ०२ बजे