काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।
यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै छ । नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले आज आयोजना गर्न लागेको ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ सम्बन्धी भर्चुअल कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवासमेत सहभागी हुँदैछन् ।
यसैबीच चुनावी माहोल बनाउन नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइराला कपिलवस्तुको बाणगंगा नगरपालिकामा आउनु भएको छ । उहाँले बाणगंगाका अगुवा कार्यकर्ता प्रशिक्षण दिने हुनु छ । प्रशिक्षण विहान ८ बजेबाट बुङचीमा रहेको श्रीपेच होटेल एण्ड रिर्सोटमा सुरु भएको छ । उहासगै नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजाल र दिपक गिरीले पनि कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ ।
के हो मेलमिलाप दिवस ?
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए ।
तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।
त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
४४ वर्षअघिको नीति अहिले पनि उत्तिकै सान्दर्भिक
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४४ वर्षअघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको नेताहरु बताउँछन् ।
प्रतिक्रिया