मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले मंगलबार (आज) सदरमुकाम तौलिहवामा विरोध प्रदर्शन गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट आएका नेकपाका कार्यकर्ताले ओली सरकारले असंबैधानिक तवरले संसद विघटन गरेको भन्दै चर्को नाराबाजी गरेका छन् ।
प्रतिगमन विरुद्ध संघर्ष गरौं, तानाशाही प्रवृत्ती बन्द गर, संसद विघटन खारेज गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर ओली सरकार विरुद्ध नेकपाका नेता तथा कार्यकर्ताले सडक आन्दोलन गरेका हुन् ।
बुद्धप्दम माविको मैदानबाट निस्किएको नाराबाजीसहितको जुलुस तौलिहवाका विभिन्न स्थान परिक्रममा गरी जिल्ला प्रशासन कार्यालय अगाडीको प्राङ्गणमा आएर कोणसभामा परिणत भएको थियो ।
सभामा सम्बोधन गर्दै नेकपाका प्रदेश सचिव जग प्रसाद शर्मा ‘अपार’ले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनताको खुसी र राष्ट्रको समृद्धिलाई चकनाचुर पारेको बताउनुभयो ।
जनताले शक्तिशाली कम्युनिष्ट पार्टी बनाएको भएपनि पार्टीलाई धरासायी पार्ने कदम ओलीले चालेको भन्दै प्रतिगामी कदमको विरुद्धमा सडकमा उत्रिएको बताउनुभयो ।
केन्द्रिय सदस्य गिरीधारलाल न्यौपाने आफैले ल्याएको गणतन्त्र आफ्नै नेताले समाप्त पार्न थालेको कारण सडकमा आएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै नेता न्यौपानेले संसद पुर्नस्थापना गरी नेपाली जनतासंग क्षमा माग्न आग्रह गर्नुभयो । ओली नसच्चिए नेपाली जनतालेनै सच्चाउने भन्दै गणतन्त्र, संघीयता धरापमा पार्न नपाइने बताउनुभयो ।
राष्ट्रवादको नारा अहिले राष्ट्रघातमा परिणत भएको भन्दै ओलीको राष्ट्रवाद अहिले मोदीको गोजीको गएको टिप्पणी गर्नुभयो ।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले नेपाली जनताले बामगठबन्धलाई विभिन्न आशा राखेर मत दिए पनि तीन बर्षमै जनताको विश्वासप्रति घात गर्ने काम प्रधानमन्त्री ओलीले गरेको बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो लहडको भरमा जनताको मतलाई विश्वास घात गरी जनताबाट निर्वाचित भएको संसदलाई विघटन गरेर लोकतन्त्र, संघीयता र राजनीति प्रति प्रहार गरेको बताउनुभयो ।
प्रधानमन्त्रीले तोकेको निर्वाचन हुन नसक्ने भन्दै कुन नैतिकताका आधारमा निर्वाचनमा जाने भन्दै प्रश्न गर्नुभयो । कार्यक्रममा पार्टी जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बोल्ने सबैले ओलीले नै जनताका सबै सपना चकनाचुर पारेको बताएका थिए ।
प्रतिक्रिया