मायादेवी अनलाइन, वाणगंगा ।
टिभी प्राविधिक सुमन थापाको उपचारको क्रममा निधन भएको छ । गत जेष्ठ महिनादेखि खुट्टामा देखिएको सानो घाउबाट क्यान्सर लागे पछि थापाको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भैरहेको थियो । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि पुस ४ गते मायादेवी अनलाइनले एक समाचार प्रकाशित गरी आर्थिक सहयोगको याचना गरेको थियो ।
तर, उपचार गर्दा गर्दै थापाको मंगलबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । २१ बर्षीय सुमनको क्यान्सर लागेको घुँडाभन्दा तलको दायाँ खुट्टाको भाग काटेर फालिएको थियो । भारत लगायत नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि घाउ निको नभएपछि अन्ततः उनमा क्यान्सर देखिएको थियो ।
महिनौंसम्म अस्पतालमा बस्नु पर्दा २० लाख भन्दा बढी रकम खर्च भएको थियो । थापालाई घाउ निको भएको थिएन भने संक्रमणसम्म फैलिएको थियो ।
थापा स्नातक प्रथम बर्षमा अध्ययनरत थिए । व्यवस्थापन संकायमा पढ्दै गरेका उनी जेहेन्दार विद्यार्थी हुन् भने कक्षामा सधै प्रथम स्थानमा आउने गर्थे । विद्यालय पढ्दै गर्दा बुद्धआवाज टेलिभिजनमा करिब दुई बर्ष उनी प्राविधिकको रुपमा काम गरेका थिए ।
बुवा बैदेशिक रोजगारीमा रहेको भएपनि छोरा विरामी भएसंगै नेपाल आउनुभएको थियो । कमाई गर्ने घरमा अरु कोहि नहुँदा उपचारको क्रममा उनमा चरम आर्थिक अभाव देखिएको थियो ।
थापाको खुट्टामा सानो घाउँ थियो । घाउँ सामान्य त हो स्थानीय अस्पतालमा उपचार गराएर सञ्चो होला भन्ने ठानेका उनीलाई क्यान्सर जस्तो घातक रोग देखिएर अन्ततः निधन भएको हो ।
प्रतिक्रिया