दीपा महत, वाणगंगा ।
संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भएको कांग्रेस नेताहरुले बताएका छन् ।
यस्तै कपिलवस्तुका पनि प्रत्येक निर्वाचन क्षेत्रमा प्रदर्शन भएको छ । त्यस अन्तर्गत क्षेत्र नम्बर १ अन्तरगत जितपुर चारनम्बरमा भएको प्रदर्शनमा सयौँ नेता कार्यकर्ता उपस्थित भएका छन् । बुद्धरंगशालाबाट सुरु भएको विरोध ¥याली चारनम्बर जितपुर चोकमा आइ कोण सभामा परिणत भएको थियो ।
विरोध प्रदर्शन पछि आयोजित कोण सभामा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलमानले कम्युनिष्ट आफै पत्तासाफ हुने मार्ग तर्फ लागेको ठोकुवा गर्नुभएको छ ।
विश्वभर नै कम्युनिष्ट पत्तासाफ भएको प्रसंङ्ग निकाल्दै उहाँले अब नेपालबाट पनि कम्युनिष्टहरु पत्तासाप हुने दिशामा रहेको दाबी गर्नुभयो । राजा, राणालाई कांग्रेसले हटाएको भन्दै अब कम्युनिष्टलाई पनि देशबाटै पत्तासाफ गर्ने उहाँले चेतावनी दिनुभयो ।
मन्त्रिमण्डल विस्तार गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेपनि संसद विगठन गरेपछि ओली सरकार काम चलाउ भएको भन्दै मन्त्रिमण्डल विस्तार गर्ने अधिकार नभएको बताउनुभयो । उहाँले काम चलाउ प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार मात्र भएको भन्दै मन्त्रिमण्डल विस्तार तथा हेरफेर गर्ने कुनै अधिकार नभएको बताउनुभयो ।
उहाँले वैशाख १७ गते निर्वाचन हुने सपना नदेख्न आग्रह गर्नुभयो । प्रचण्ड-माधव पक्षलाई अख्तियारको अध्यक्ष दिन नसक्ने ओलीले कांग्रेसलाई सत्ता सुम्पिन नसक्ने भन्दै संबिधान फेल गराउन संसद विगठन गरि निर्वाचनको घोषणा गरिएको बताउनुभयो ।
नेता कमालले प्रधानमन्त्रीले ठाउँ-ठाउँमा आफुलाई काम गर्न नदिएको भन्दै आएको भन्दै प्रधानमन्त्रीलाई कस्ले काम गर्न दिएन भनि प्रश्न गर्नुभयो ।
संबैधानिक नियुक्तिमा जालझेल गरी राज्यलाई पछाडि धकेल्न सक्ने प्रधानमन्त्रीले देशलाई नै बेचिदिन सक्ने आरोप लगाउनुभयो । ७० करोड काण्डमा मुछिएका गोकुल बास्कोटा, बालुवाटारको जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेल, वाइडवडी जहाजमा भ्रष्टचार गर्नेलाई कारवाही गर्न कस्ले रोक्यो भन्दै उहाँले प्रश्न गर्नुभयो ।
भ्रष्टाचारमा मुछिएकालाई कांग्रेसले कारवाही गर्न सदन तथा सडकबाट माग गरेपनि सरकारबाटै भ्रष्टचारीको संरक्षण भएको बताउनुभयो । प्रधानमन्त्रीले समृद्धिको कुरा धेरै गर्ने गरेको भन्दै इश्वर पोख्रेल, गोकुल बास्कोटा लगाएतका आसेपासेको लागि समृद्धि ल्याएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नेताहरुले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया