मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले तौलिहवामा विशाल आमसभाको आयोजना गरेको छ । नेकपा केन्द्रिय कमिटीको निर्णय अनुसार भोलि देशभरका ७७ वटै जिल्ला सदरमुकाममा विशाल आमसभा हुने निर्धारित कार्यक्रम अनुसार कपिलवस्तुमा पनि हुन लागेको हो ।
भोलि विहान ११ बजे जिल्ला सदरमुकाम तौलिहवामा पार्टीले विशाल आमसभाको आयोजना गरेको पार्टीका जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंबैधानिक, अराजनीति कदम चालेको कारण त्यसको विरोध स्वरुप पार्टीले जिल्लामा विशाल आमसभाको आयोजना गरेको पार्टी सचिव शाहले जानकारी दिनुभयो ।
भोलिको कार्यक्रम समग्र संविधान विपरितको कदम प्रति भएको कारण सबैलाई उपस्थित हुन उहाँले अपिल गर्नुभएको छ ।
आमसभाका नेकपाका केन्द्र, प्रदेश र जिल्ला तहका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा कपिलवस्तुले आइतबार मात्र जिल्लाको गोरुसिंगेमा बृहत जिल्लास्तरीय भेलाको आयोजना गरेको थियो । पछिल्लो समय प्रधानमन्त्री ओलीले संसद विघटन गर्दै मध्यावधी चुनाव घोषणा गरेपछि यसको देशभर विरोध भैरहेको छ । नेकपा अध्यक्ष रहेका ओलीलाई पार्टीले कारबाही गरेर अध्यक्षबाट हटाएको छ ।
प्रतिक्रिया