काठमाडौं ।
विगत १६ दिनदेखि उखुको भुक्तानी माग गर्दै माइतीघर मण्डलामा आन्दोलनरत किसान र सरकारबीच आज वार्ता हुँदै छ। आज दिउँसो ३ बजे वार्ताका लागि सरकारले बोलाएको सर्लाही किसान आन्दोलन संघर्ष समितिका सचिव हरेश्याम यादवले जानकारी दिए। ‘आज तीन बजे उद्योग मन्त्रालयमा वार्ता हुँदै छ’, यादवले भने ‘ कुरा मिल्यो भने आजैदेखि आन्दोलन स्थगित गर्छौं।’
चिनी उद्योगीबाट उखु किसानले करिब ९० करोड रुपैयाँ लिन बाँकी छ। सात वर्षदेखिको पैसा उठाउन बाँकी भए पनि सरकार र उद्योगीले पैसा दिनुको साटो झुक्याइरहेको किसानको गुनासो छ।
यो बीचमा केही उद्योगीले किसानको खातामा केही पैसा हालिदिए पनि त्यो सरकारले तोकेको मूल्यभन्दा कम रहेको किसानको गुनासो छ। सरकार र उद्योगी मिलेर पुनः आफूहरूलाई झुक्याउन खोजेको भन्दै किसानले सबै भुक्तानी नपाउँदासम्म आन्दोलन नरोक्ने अडान दोहोर्याएका छन्। आन्दोलन नरोकेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन्।
प्रतिक्रिया