७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

ओलीको घमण्डले नेकपामा आजको अवस्था आयोः योगेश भट्टराई



नेपालगञ्ज ।
नेकपाका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डका कारण नेकपामा यस्तो स्थिति आएको बताएका छन् ।

नेकपाको दाहाल–नेपाल पक्षले राखेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेकाले सच्याउनुको विकल्प नभएको बताए । उनले आफूहरुको माग नै संसद पुनःस्थापना भएको दोहोर्‍याए ।

नेता भट्टराईले संसद पुनःस्थापनाका लागि आन्दोलन गर्ने बताए । उनले कार्यकर्ताबीच आफूहरु नै आधिकारिक नेकपा भएको बताए ।

पूर्वसभासद दलबहादुर सुनारले संसद पुनःस्थापनाको आन्दोलनमा जनतालाई उतार्न सबैसँग आग्रह गरे ।

जिल्ला अध्यक्ष आइपी खरेलले असंवैधानिक कदम सच्चिनै पर्ने बताए । केन्द्रमा विभाजन देखिँदा बाँकेमा पनि गुटगुटका भेला हुन सुरु गरेका छन् । ओली पक्षीयले कोहलपुरमा भेला गरिसकेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७७ सोमबार ००:००  ७ : ३३ बजे