८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पार्किङ अस्तव्यस्तताको अखडा बन्दै सदरमुकाम तौलिहवाका सरकारी कार्यालय



विक्रम विश्वकर्मा, तौलिहवा ।
जिल्ला सदरमुकाम तौलिहवामा रहेका सरकारी कार्यालय सडकमा पार्किङ अस्तव्यस्तता निम्त्याउने अखडा बनेका छन् । दिनहुँ सयौं सेवाग्राहीलाई सेवा दिनुपर्ने सरकारी कार्यालयहरूले पार्किङ गर्ने ठाउँ बनाएका छैनन् । वैकल्पिक व्यवस्थापनमा कुनै चासो पनि छैन् । तौलिहवाका अधिकांश कार्यालयमा सवारी पार्किङ गर्नै समस्या छ ।

तौलिहवाको बैंक रोड र भित्री सडक आसपास रहेका कार्यालयमा मोटरसाइकल र साना सवारीसाधनलाई पार्किङ गर्न कठिन हुने गरेको हो । सरकारी कार्यालयमा सेवा लिन आएकाहरूले सडकमै सवारीसाधन पार्किङ गरिदिँदा पैदलयात्री हिँड्ने सडक पेटी हराउँदै गएको छ । सबैभन्दा बढी सकस त दृष्टिविहिनहरूले भोगिरहेका छन् । उत्तिकै सास्ती बृद्धबृद्धा देखि अरुले पनि भोगिरहेका छन् ।

कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला अदालत, राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, जिल्ला प्रहरी कार्यालय, गौढी चोक, नयाँ टोल, चोक बजारको भित्री सडकपेटी दिनभर सवारी साधन पार्किङ गर्ने थलो बनेको छन् । दैनिक हजारौको संख्यामा भिड हुने भूमि सुुधार तथा मालपोत कार्यलय तथा नापी कार्यलयमा त बाहिरी भागमा ‘नो पार्किङ’ को नोटिस पनि राखिएको छ तर दिनभर उक्त ठाउँमा पार्किङ स्थल बनिरहेको छ । सेवाग्राहीले सहजरुपमा कार्यलय परिसर हिड्न समेत पाउदैनन् । कार्यलय वरिपरि पार्किङ स्थल पनि छैन् । सडक छेकेर नै पार्किङ गरेर राख्नु पर्ने बाध्यता रहेको छ । यात्रु हिँड्न बनाइएको सडकपेटी सवारीसाधन प्रयोग गर्नेहरूले बाध्यतापूर्वक कब्जा गर्नुपर्ने अवस्था छ ।

यसो हुनुको प्रमुख कारण सरकारी कार्यालयले पार्किङ सुविधा विस्तार नगर्नु नै हो । जिल्ला प्रशासन कार्यलय अगाडीको अस्पातल लाइन तथा बैकरोडको सडक किनारामा पनि अव्यवस्थित पार्किङ गर्ने गरिएको छ । सवारीसाधनको बढ्दो चाप र पार्किङ क्षेत्र अभावमा तौलिहवा भर नै विकराल समस्या बनिरहेको छ ।

सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले यस्तो सास्ती भोग्न थालेको धेरै समय भइसक्यो । समस्या समधानका लागि न त सरकारले चासो देखायो, न त सम्बन्धित कार्यलयका अधिकारीहरुले समाधानका लागि पहल गरे । आफ्नो सवारीसाधन सडक पेटीमा पार्किङ गर्न हुन्न भन्ने थाहा पाउदा पनि कार्यालय परिसरभित्र पार्किङ गर्ने ठाउँ नहुँदा सेवाग्राहीहरू बाध्यतापूर्वक नै यस्तो गर्न बाध्य भएको बताउने गर्छन् ।

कपिलवस्तु नगरपालिका भित्र पार्किङस्थल नै छैन्

हुलाकी राजमार्ग अन्र्तगत सदरमुकाम तौलिहवामा अहिले सडक निर्माणको कार्य जारी छ । सडकको केन्द्र देखि १५/१५ मिटरको सडक निमार्ण भैरहेको छ । तर उक्त निर्माणाधिन सडकमा पार्किङ सुविधा कहि कतै छैन । तौलिहवाका सरकारी कार्यालय तथा चोक चोकमा अत्याधिक भिड हुने गर्दछ । जताततै सडकमा सवारीसाधन पार्किङ गरिएको हुन्छ । पाइला टेक्ने ठाउँ समेत हुँदैन । तर, पनि नगरपालिका मौन बस्छ ।

कपिलवस्तु नगरपालिकाले उपयुक्त खाली ठाउँ खोजेर पार्किङ गर्ने योजना बनाउन कुनै ठोस कदम अगाडी बढाएको देखिदैन् । नगरपालिकाले अहिलेसम्म कुनै योजना नै बनाएको छैन् । सडक निमार्णको कार्य सकिए पनि त्यसको लागि पहल गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनु भएको छ ।

सवारीसाधनलाई कारबाही गर्नु मात्र यो समस्याको समाधान भने होईन भन्ने कुरालाई प्राथमिकतामा राखेर पालिकाहरुले सम्बन्धित निकायसंग समन्वय गरी पार्किङको व्यवस्थापन नगर्ने हो भने तौलिहवा नै कुरुप र अव्यवस्थित शहरको नमुना बन्ने छ ।

सबै भन्दा बढी अस्तव्यस्त मालपोत कार्यालय

तौलिहवामा सबैभन्दा बढी व्यस्त हुने भनेको जिल्ला भुमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालय हो । यहाँ दैनिक हजारौं सेवाग्राहीहरु सेवा लिन आउछन् । तर पार्किङ स्थलमा भने मुस्किलले १० ओटा साधन अट्ने मात्र छ । कार्यालय अगाडि सडकपेटी मै लामलस्कर लगाएर साना सवारी साधन पार्किङमा राखिएको हुन्छ । पार्किङको लागि विकल्प दिने स्थानको पनि अभाव छ । जसले गर्दा सडक मै ठेलमठेल चल्छ ।

उचित व्यवस्थापनको लागि पालिकासंग हालसम्म पनि समन्वय भएको मालपोत कार्यलयका प्रमुख ऋषिराम पौडेल बताउनुहुन्छ । कार्यालयमा आवश्यक जनशक्ति नहुदा समन्वय गर्न नसकिएको प्रमुख पौडेलको भनाई छ । अस्तव्यस्त पार्किङलाई हटाउन छिटै समन्वय गरिने उहाँले बताउनु भयो ।

दृष्टिविहीनलाई सकस

अव्यवस्थित सवारी पार्किङले सडकपेटी भरिभराउ हुँदा त्यसको प्रत्यक्ष प्रभाव दृष्टिविहीनहरुलाई परेको छ । उनीहरुले दैनिक जीवनयापनका लागि बजार आउदा निकै सास्ती पाउने गरेका छन् । तौलिहवामा अपाङ्गता भएकालाई हिड्नका लागि पेटी बनाईएको छैन् । अपाङ्गमैत्री फुटपाथ नहुदा सडकको छेउबाट हिड्न सकिने अवस्था नभएको लुम्बिनी अपाङ्गता विकास केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले बताउनु भएको छ ।

अव्यवस्थित पार्किङ गरेकालाई कारवाहीः ट्राफिक प्रमुख क्षेत्री

जिल्लामा जथाभावी पार्किङ गरेकोलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख प्रहरी निरीक्षक दिलीप क्षेत्रीले बताउनु भएको छ । राजमार्ग क्षेत्रमा सडकबाट कम्तिमा १० फिट भित्र पार्किङको व्यवस्था भए पनि अन्य सडकखण्डमा भने पार्किङ स्थल नहुदा समस्या सिर्जना भएको क्षेत्रीले बताउनु भयो ।

जिल्लाका जीतपुर र चन्द्रौटामा पालिकासंग समन्वय गरी अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्ने तर्फ लागेको बताउनु भयो । अन्य पालिकासंग पनि समन्वय अगाडि बढाईएको बताउनु भयो । सडक निर्माणाधिन क्षेत्रमा ठेकेदारलाई निर्माण सामग्री हटाउन भनेको उहाले बताउनु भएको छ ।

अन्य पालिकामा पनि समस्या उस्तै

कपिलवस्तु नगरपालिका क्षेत्र भित्र मात्र नभई जिल्लाका अन्य पालिकामा पनि यो समस्या विकराल अवस्थामा रहेको छ । जिल्लाको दक्षिणी पूर्वी शुद्धोधन गाउपालिकाको केन्द्र लवनी बजारमा पनि सडक नै ढाकिने गरी नै पार्किङ गरिएको हुन्छ । मायादेवी गाउपालिकाको केन्द्र पकडीमा पनि त्यही हालत रहेको छ । महाजगञ्ज नगरपालिकामा रहेको केन्द्रमा पनि सडक मै लामलस्कर लगाएर पार्किङमा सवारी साधन सडक मै राखिएको भेटिन्छ ।

त्यस्तै कृष्णनगर नगरपालिकाको केन्द्रमा पनि उही विकराल अवस्था रहेको छ । जिल्लाको वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा सडक फराकिलो भए पनि उपयुक्त पार्किङ स्थल भने अहिलेसम्म छैन् । यशोधरा र विजयनगर गाउपालिकामा पनि पार्किङको उपयुक्त व्यवस्था छैन् ।

शहरी सौन्दर्यमा असर

अव्यवस्थित पार्किङले गर्दा सदरमुकामको सौन्दर्यमा पनि ह्रास आएको छ । सडक पेटीबाट हिँड्दैगर्दा निकै विरक्तलाग्दो र अव्यवस्थित दृश्य देख्नुपर्छ । सदरमुकाममा व्यवस्थित तथा भरपर्दाे पार्किङको सुविधा नहुँदा समस्या दिनहुँ बढ्दै गईरहेको छ । सडक पेटीमा अझै निकै लामो समयसम्म आवतजावतका लागि यात्रुले सास्ती खेप्नुपर्ने पक्कापक्की छ । अस्तव्यस्त पार्किङले सडकको चौडाई घटाए जस्तो सहरको रौनकता पनि घटिरहेको छ ।

सबै सरकारी तथा गैर सरकारी कार्यालयमा उपयुक्त पार्किङको व्यवस्था हुन सकेको छनै। कार्यालय निर्माणको अवस्थामा नै पार्किङको सुविधा सहितको भवन निर्माण गर्न सकेमा मात्र दैनिक कार्यालयमा आउने सेवाग्राहीहरुले सहजता पाउने थिए । यसका लागि स्थानीय तहहरुले प्रत्यक सरकारी तथा अन्य कार्यालयसंग समन्वय गरेर अगाडि बढ्न सक्छ । यसले गर्दा बढ्दो सडक दुर्घटनालाई केही हदसम्म कम गर्न सकिन्छ । दैनिक आवातजावत गर्ने नागरिकलाई सहजता हुने थियो ।

प्रकाशित मिति : १२ पुस २०७७ आइतबार ००:००  ७ : २४ बजे