मायादेवी अनलाइन, बुद्धभूमि ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’ले जनताले कम्युनिष्ट पार्टीलाई असिमित शक्ति दिएपनि प्रधानमन्त्रीकै कारण यसको रक्षा गर्न नसकिएको बताउनुभएको छ । राजनीति जीवनकालमा पार्टी टुटफुटको पीडा भोग्दै, देख्दै आएपनि अहिले पार्टी भित्र देखिएको विवाद साच्चिकै पीडादायी भएको नेता खनालले बताउनुभयो । ‘नेपाली जनताले आजको स्थिति आउँला भनेर नेकपालाई बहुमत दिएका थिएनन् । जनताको प्रतिनिधिको हैसियतले बोल्दा आजको दिन पीडादायी छ, नेता खनालले भन्नुभयो ।’
आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमत रहेको संसद विघटन गरेर प्रधानमन्त्रीले इतिहासमै कलंक लाग्ने काम गरेको उहाँले बताउनुभयो । देशैभर कम्युनिष्ट विचार बोल्ने जनताको बहुमत हुने तर कम्युनिष्टको सरकार नबन्ने स्थिति रहदै आएपनि अहिले नेकपालाई जनताले राम्रै अवसर दिएपनि प्रधानमन्त्रीको कार्यशैलीले कलंकको शिकार बन्नु परेको उहाँको तर्क थियो ।
नेकपा कपिलवस्तुले आइतबार गोरुसिंगेमा राखेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले केपी शर्मा ओली अहिले स्वघोषित प्रधानमन्त्री रहेको जिकिर गर्नुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरीधारलाल न्यौपानेले दिउँसै अध्यारो पार्ने काम कसैलाई नगर्न चेतावनी दिनुभयो । अहिले देशमा दिउँसै अध्यारो पार्ने काम भएको भन्दै नेपाली जनताले त्यसलाई असफल सावित गर्ने विश्वास व्यक्त गर्नुभयो । लामोे संघर्ष पछि ल्याइएको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता रसमावेशीता मासिने खतरा अहिलेका प्रधानमन्त्रीबाट भएको बताउँदै जनताले दिएको जनादेशलाई सम्मान गर्न सुझाव दिनुभयो । ‘प्रधानमन्त्री ओलीलाई सचिवालय, स्थायी र केन्द्रिय कमिटीले पटक पटक सच्चिन आग्रह गरेपनि कसैले भनेको मान्नुभएन अब जनताले सच्चाउँछन भनेरै सडकमा आएका हौं उहाँले भन्नुभयो, अझै पनि यहाँबाट तपाई सच्चिनुस भन्छौ ।’
नेकपा केन्द्रिय सदस्य डोर प्रसाद उपाध्यायले अहिले मुलकमा षडयन्त्रको सिद्धान्तबाट शासन गर्ने प्रयास भएको बताउनुभएको छ । जब शासन पारदर्शीताबाट चलाउनुपर्नेमा षडयन्त्रबाट चलाउन खोजिन्छ त्यतिबेला मूलुकमा गम्भीर संकट पैदा हुने भन्दै अहिले त्यही भैरहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले कम्युनिष्ट आन्दोलन धरासयी पार्दै मुलुकको राजनीति अधिकारलाई नै समाप्त पार्ने कोशिस भैरहेको बताउनुभयो । संसद विघटन गरेर आफै दलको प्रधानमन्त्रीले असंबैधानिक कदम चालेको भन्दै मै नै पार्टी हुँ, म नै विधान हुँ भन्ने घमण्ड त्याग्न आग्रह गर्नुभयो ।
नेकपा जिल्ला सचिव रामचन्द्र शाहको अध्यक्षतामा भएको जिल्लास्तरीय कार्यकर्तामा भेलालाई नेकपाका नेताहरु अब्दुल अहमद खाँ, इन्द्रमणी पौडेल, आजाद दर्जी, कमल भट्टराई, सुशील खत्री, गीता अञ्जान लगायतले सम्बोधन गर्दै देशमा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने प्रायस भैरहेको भन्दै सबैले प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
जिल्लाका सयौं नेता तथा कायर्कता उपस्थित रहेको भेलाको सञ्चालन युवा नेता सर्वेन्द्रदेव खनालले गर्नुभएको थियो ।
प्रतिक्रिया