८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मुख्यमन्त्री राई भन्छन्ः अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्छुु



मोरङ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश सभामा आफूविरुद्ध पेस गरिएको अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्ने बताउनुभएको छ । सङ्घीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रूपमा अविश्वास प्रस्ताव आएको भन्दै त्यसलाई असफल बनाउने उहाँले दाबी गर्नुभयो । प्रदेश सरकार असक्षम भएर नभइ सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशहरूलाई कमजोर बनाउने, अस्थिरता र कमजोर बनाउने र सङ्घीयतालाई संस्थागत हुन नदिन निर्देशित ढङ्गबाट अविश्वास प्रस्ताव आएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री राईले भन्नुभयो, ‘यसको सामना म आरामले गर्छु, किन आरामले गर्छुभन्दा विवेक भएका माननीय सदस्यहरू प्रदेश सभामा हुनुहुन्छ । उहाँहरूलाई यो बनिबनाउ, निर्देशित, सुनियोजित, चालबाजी हो, गोटी हो भनेर राम्रोसँग थाहा छ ।’ मुख्यमन्त्री राईले आफूले सफल रूपमा प्रदेशको नेतृत्व गरिराखेको दाबी गर्दै सुविधाजनक बहुमतका साथ प्रदेश सभामा यसको सामना गर्ने बताउनुभयो ।

संविधानलाई कार्यान्वयन हुन नदिन अनेक प्रयास हुँदै आएको बेला नागरिकलाई अपिल गरेर ठूलो जनमत प्राप्त गरेको उहाँले बताउनुभयो । आइतबार बिहान प्रदेश सभाका ३६ जना सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेका हुन् । निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव दर्ता गर्नुभएको हो । प्रदेश एकमा ९३ सांसद छन् । तीमध्ये नेकपाका ६७ सांसदमध्ये प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् ।
यसअघि प्रदेशका सामाजिक विकास मन्त्रीसहित तीन जनाले राजीनामा दिइसक्नुभएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७ आइतबार ००:००  ४ : ०६ बजे