विराटनगर ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् । मुख्यमन्त्रीको कार्यालयले मन्त्री आङ्बोलाई पदमुक्त गरिएको जानकारी दिएको छ ।
आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएका थिए । आइतबार नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ ।
नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
यसैबीच प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेकपाको दाहाल–नेपाल समूहले छलफल थालेको छ । आइतबार नै यस्तो प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने तयारी भएको छ ।
प्रदेश–१ को सरकारविरुद्ध के गर्ने र कहिले–कसरी अविश्वास प्रस्ताव ल्याउने भन्ने विषयमा पार्टीका केन्द्रीय नेतृत्वसँग छलफल गर्न आफू काठमाडौंमै रहेको जानकारी दिँदै नेकपाका सचिव तथा प्रदेश सांसद भीम आचार्यले भने, “साथीहरुको हस्ताक्षर संकलन गरिसक्नु भएको पनि सत्य हो तयारी भइसकेको छ ।”
आचार्यले पार्टीको केन्द्रीय नीतिअनुसार नै प्रदेशमा आफूहरु चल्ने भएकाले प्रदेश–१ सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको स्पष्ट गरे । फेरि पनि मुख्यमन्त्रीमा आउनु हुन्छ भन्ने जिज्ञासामा आचार्यले भने, “छलफल हुँदैछ । पर्खनुहोस् न थाहा पाइहाल्नु हुन्छ ।”
यसअघि मुख्यमन्त्री पदका लागि भएको निर्वाचनमा नेता आचार्य राईसँग पराजित भएका थिए । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले असंवैधानिक रुपमा संसद विघटन गर्ने समूहकै मुख्यमन्त्री राईको नेतृत्व स्वीकार गरेर जान नसकिने बताए ।
प्रतिक्रिया