मायादेवी अनलाइन, चारनम्बर ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले संसद विघटनको विरुद्धमा शनिबार साँझपख कपिलवस्तुमा मसाल जुलुस निकालेको छ ।
चार नम्बर जितपुरमा जसपाका नेता कार्यकर्ताहरुले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैरसंवैधानिक भएको भन्दै विरोध स्वरुप मसाल जुलुस निकालेका हुन् ।
जसपा नेपालको पूर्व निर्धारित विरोध कार्यक्रम अनुसार आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य नारायण खनालले पार्टी भित्रको आन्तरिक झगडा मिलाउन नसकेर संसद भंग गर्ने प्रधानमन्त्रीको प्रवृत्ति गलत रहेको बताउनुभयो ।
जनताले दिएको जनादेशलाई वर्तमान सरकारले सम्हाल्न नसकेको भन्दै उहाँले संसद र संविधानमाथि सरकारबाट प्रहार भएको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकार र नवनियुक्त मन्त्रीहरुले देशको र जनताको हितका लागि भन्दा अब आफ्नो लागि मात्रै काम गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता दानबहादुर चौधरीले सरकारले जनभावना विपरित काम गरेको बताउनुभयो । लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता माथि वर्तमान सरकारले प्रहार गरेको पनि उहाँले बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालले पुस ५ गते प्रधानमन्त्रीले संसद भंग गरेयता दैनिक जसो विरोध गरिरहेको छ । शुक्रबार प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्दै बिरोध जनाएको थियो भने शनिबार जिल्लाका मुख्य मुख्य स्थानमा मसाल जुलुश सहित विरोध सभा गरेको हो ।
प्रतिक्रिया