८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भोलि नेकपाको प्रचण्ड–नेपाल समूहले गोरुसिंगेमा जिल्लास्तरीय भेला राख्दै



मायादेवी अनलाइन, वाणगंगा ।
केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले एकलौटी तवरले प्रतिनिधि सभा विघटन गरेपश्चात पार्टी फूटको दिशामा रहेको नेकपा कपिलवस्तुको प्रचण्ड–नेपाल समूहले भोलि जिल्लाको गोरुसिंगेमा जिल्लास्तरीय कार्यकर्ता भेला कार्यक्रम आयोजना गरेको छ ।

पार्टीको बहुमत नेता पक्षिय यो समूहले आधारिक नेकपा आफुहरुको रहेको भन्दै आम कार्यकर्तालाई पार्टीमा देखिएको पछिल्लो घटनाक्रमबारे वास्तविक जानकारी दिने गरी भेलाको आयोजना गर्न लागेको हो ।

हालै सकिएको पार्टीको तेस्रो केन्द्रिय कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीलाई कारबाही गरी देशभर प्रतिनिधि सभाको विघटनका विरुद्धमा आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भोलि जिल्लामा जिल्लास्तरीय कायकर्ता भेला आयोजना गरिएको नेकपाका जिल्ला सचिवालय सदस्य विष्णु बेल्वासेले जानकारी दिनुभयो ।

विहान ११ बजे सुरु हुने भेलामा पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल (बलदेव), केन्द्रिय सदस्य दोय डोरप्रसाद उपाध्याय, गिरधारीलाल न्यौपाने, नेता तथा प्रदेश सांसद विष्णु पन्थी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी सचिवालय सदस्य कमल आचार्यले बताउनुभयो ।

भेलालाई बृहत बनाउनका लागि शनिबार वाणगंगामा अनेरास्ववियू, राष्ट्रिय युवा संघले संयुक्त छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त छलफल कार्यक्रम पश्चात ओली सरकारको कदमका विरुद्ध सशक्त प्रतिवाद गर्दै आम जनतामाझ यथार्थ कुराको जानकारी दिनका लागि हजारौं कार्यकर्तालाई भेला गराउने उद्धेश्य लिएको नेकपाका युवा नेता सर्वेन्द्रदेव खनालले बताउनुभयो ।

भेलामा अनेरास्ववियूका जिल्ला सह–संयोजक दयाराम पौडेल, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज प्रेम चापागाई, युवा नेता कमल भट्टराई, विद्यार्थी नेता सुशील खत्री लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ११ पुस २०७७ शनिबार ००:००  ५ : ४३ बजे