१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

ओलीको केन्द्रिय समितिमा बस्न अस्वीकार गर्ने नेता बढेको बढै



काठमाडौं ।
पार्टी विभाजनसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूमा कित्ताकाटको क्रम बढेको छ । कार्यकर्ताहरूको खिचातानी पनि तीव्र भएको छ । विभाजन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गर्नुभएको केन्द्रीय समितिमा राखिएका दर्जन बढी सदस्यहरूले समितिमा बस्न अस्वीकार गरेका छन् ।

ओली समूहले एकलौटी ढंगबाट केन्द्रीय समितिमा ५ सय ५६ जना थप गर्दै एक हजार १ सय ९९ सदस्यीय महाविधेशन आयोजक समिति बनाएको थियो । एकतर्फी रूपमा पुनगर्ठित समितिमा बसेर पार्टी फुटाउन खोज्नुले देश र जनताको भलो नहुने भन्दै ओली समूहका केही नवनियुक्त सदस्यहरूले पद अस्वीकार गरेको बताएका छन् ।

पद अस्वीकार गर्नेहरूमा प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सांसद गोपालचन्द्र बुढाथोकी, लुम्बिनी प्रदेश सदस्य भगवती भण्डारी, प्रदेशसभा सदस्य उषाकला राई लगायत छन् । सूचनाविनै ओली समूहको समितिमा मनोनित भए पनि पार्टी विभाजन हुने खेलमा सहभागी नहुनका लागि पनि पद अस्वीकार गर्नुपरेको प्रदेश १ की प्रदेशसभा सदस्य उषाकला राई बताउनुहुन्छ ।

पार्टीको दुवै समूहबीचको विवादले प्रतिनिधिसभा विघटन भएपछि ओली र दाहाल–नेपाल समूहमा प्रभावशाली नेताहरू समेत ध्रुवीकृत हुने क्रम बढेको छ । ओली समूहमा सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा दाहाल–नेपाल समूहमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत नेताहरू छन् । पार्टी एकताको काम नसकिदै पार्टी फुटतर्फ लाग्नु देश र जनतालाई धोका दिनुसरह भएकाले दुवै पक्ष एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको प्रदेश सांसद् राईको तर्क छ । यद्यपी दुई पक्ष अब एक ठाउँमा आउने सम्भावना देखिएको छैन ।

शीर्ष नेताहरूबीच पानी बाराबारको अवस्था सिर्जना हुँदा नेतृत्व पंक्तीले आफ्नो पल्लाभारी बनाउन कार्यकर्ता तानातान गर्नुलाई शक्ति सञ्चयको खेलको रूपमा लिन सकिन्छ । नेतृत्वले आफू वैधानिक हुन लडाइँ गरिरहँदा कार्यकताको पनि गुट फेरबदल हुनु नौलो कुरा होइन ।

प्रकाशित मिति : १० पुस २०७७ शुक्रबार ००:००  ८ : ४३ बजे