९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनी प्रदेशका सांसद प्रधानमन्त्रीको कदमलाई लिएर आक्रोशित



बुटवल ।
प्रधानमन्त्री केपि शर्मा ओलीले संघीय संसद विघटन गरेकोप्रति लुम्बिनी प्रदेशका प्रदेशसभा सांसदहरुले आपति जनाएका छन् । सोमबार बुटवलमा रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांसदहरुले उक्त कदमको विरोध जनाएका हुन् । उनीहरुले संसद विघटन गर्ने प्रधानमन्त्री ओली र राष्ट्रपतिको कडा आलोचना गरे ।

साक्षात्कार गर्दै बोल्दै सत्तारुढ दल नेकपाका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले प्रधानमन्त्रीले इतिहासकै ठूलो भूल गरेको बताउनुभयो । उहाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री कार्यालयको दूतजस्तै भएको भन्दै कडा आलोचना गर्नुभयो । उहाले आगामी वैशाखमा निर्वाचन हुनै नसक्ने दाबी गर्नुभयो ।

नेकपाकै अर्का सांसद तुलाराम घर्तीले केन्द्रीय राजनीतिमा देखा परेका घटनाहरुको तरङ्ग प्रदेशमा पनि देखिनु स्वाभाविक भएको बताउनुभयो । केन्द्रको राजनीतिक समीकरणले प्रदेश सरकारको समीकरण पनि बदलिन सक्ने संकेत गर्दै उनले प्रधानमन्त्रीको कदमको आलोचना समेत गर्नुभयो ।

प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले विश्वव्यापी कोरोना महामारीका बेला सरकारले चालेको कदम अलोकतान्त्रिक र तानाशाही भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको कदमले मुलुक र लोकतन्त्र धरापमा परेको बताउँदै उहाले संसद विघटन गर्नु असंवैधानिक भएको बताउनुभयो ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले सरकार र राष्ट्रपतिको कदम असंवैधानिक भएको उल्लेख गर्दे जनमतको कदर नेपाल कम्युनिष्ट पार्टीले गर्न नसक्ने कुरा फेरि पनि पुष्टि भएको बताउनुभयो ।

साक्षात्कारमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले प्रधानमन्त्रीको स्वच्छेचारिता र दमनकारी नीतिका कारण मुलुक ठूलो दुर्घटनामा जाने संकेत गरेको बतायनुभयो ।

प्रकाशित मिति : ७ पुस २०७७ मंगलबार ००:००  ८ : १४ बजे