मायादेवी अनलाइन, वाणगंगा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचनको मिति तोकेको विरोधमा कपिलवस्तुको चारनम्बरमा विरोध प्रदर्शन भएको छ । संविधान माथि प्रधानमन्त्रीले ‘कु’ गरेर चुनावको मिति तोकेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले ओलीको कदम प्रति प्रदर्शन गरेका हुन् ।
सोमबार साँझ वाणगंगाको चारनम्बरमा र्यालीको आयोजा गरी भएको कोणसभामा बोल्दै विद्यार्थी नेताहरु सुशील खत्री, दयाराम पौडेल, डिल्लीराज पाण्डे लगायतले ओलीको पछिल्लो कदम प्रति चर्को आलोचना गर्नुभएको थियो ।
नेपाली जनताले ५ बर्षका लागि चुनाव जिताएर पठाएको भएपनि प्रधानमन्त्री ओलीले सनकको भरमा संसद विघटन गरेर देशमा अस्थिरता निम्ताउने काम गरेको उनीहरुको आरोप थियो ।
यता जिल्लाको चन्द्रौटामा पनि सोमबार प्रधानमन्त्री ओलीको विरुद्धमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गिय संगठनको आयोजनामा भएको प्रर्दशनमा प्रधानमन्त्रीले जनमतको कदर नगरेको भन्दै प्रधानमन्त्री बिरुद्ध लेखिएका विभिन्न प्लेकार्ड लिएर नारा लगाएका थिए ।
चन्द्रौटा चोकमा भएको कोणसभालाई बोल्ने वक्ताहरुले ओलीले प्रतिगामी निरङ्कुश कदम चालेको बताएका छन् । कोणसभालाई सम्बोधन गर्दै महिला नेतृ सन्तोषी पाण्डेले जनताले दिएको मतको दुरुपयोग गरि संसद बिघटन गर्नु दुर्भाग्य रहेको बताउनुभयो । प्रधानमन्त्रीले चालेको कदम संविधान बिपरित रहेकोले तुरुन्त सच्याउन आम जनताको माग रहेको बताउनुभयो ।
ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष गंगन बिकले देशमा भइरहेको अराजकतालाई हटाउन छोडेर जनतालाई सडकमा आउने वाध्यता बनाउन प्रयास गरेको बताउनुभयो । जनताले स्पष्ट बहुमत दिएर काम गर्ने बेलामा संविधान बिपरित काम गर्ने अधिकार प्रधान्मन्त्रीलाई नभएको भन्दै गलत कामलाई सच्याएर जान आग्रह गर्नुभयो ।
बिरोध प्रर्दशनमा नेकपाका प्रदेश किमिटी सदस्य बालकराम बुढा, अब्दुल रहुफ, नेकपाका शिवराज नगर अध्यक्ष दिनेश पुन, पूर्व क्षेत्रीय अध्यक्ष ओम प्रकाश कुर्मी लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया