९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज नेकपा औपचारिक रुपमा फुट्दै, नाम, झण्डा र चिन्ह यस्तो हुने छ



काठमाण्डौँ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्ततः विभाजनको बाटो पहिल्याएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद् विघटनको सिफारिस गरेसँगै विभाजनको बाटो तताए पनि मङ्गलबार त्यसले औपचारिकता पाउने नेकपाका नेताहरूले बताएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत स्थायी कमिटी सदस्यहरू आइतबार नै बैठक बसेर प्रधानमन्त्री ओलीले संविधान विघटनजस्तो असंवैधानिक कदम चालेको निष्कर्ष निकालेका छन् । र, अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेका छन् ।

उनीहरूले मङ्गलबार दिउँसो १ बजे कार्की पार्टी प्यालेस बबरमहलमा केन्द्रीय कमिटीको बैठकसमेत बोलाएका छन् । पार्टी कार्यालयका सचिव श्रीराम ढकालमार्फत् सबै केन्द्रीय सदस्यहरूलाई बैठकको खबर पनि पठाइसकिएको केन्द्रीय सदस्यहरूले बताएका छन् ।

तर, प्रधानमन्त्री ओली पक्षले प्रचण्ड–नेपाल समूहभन्दा अगाडि नै बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यो बैठक बोलाउने स्पर्धा नै नेकपा विभाजनको औपचारिक निम्तो भएको नेकपा नेताहरूको ठहर छ ।

प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएअनुसार उनीहरूले बोलाएको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई पार्टी अनुशासनको कारबाही गर्नेछ । पार्टीको पहिलो वरीयताका र निर्वाचन आयोगमा हस्ताक्षर चल्ने अध्यक्षले कारबाही गरेपछि त्यसले वैधानिकता पाउने उनीहरूको विश्वास छ ।

यसरी दुवै पक्षले एकले अर्कालाई कारबाही गरेपछि त्यही नै फुटको औपचारिक विन्दु हुने नेकपाका नेताहरू बताउँछन् । नेकपा स्थायी कमिटी सदस्य गणेश साह बहुमत पक्षले प्रधानमन्त्री ओलीलाई कारबाहीको सिफारिस गरेपछि फुटको यात्रा तय भएको बताउँछन् ।

“स्थायी कमिटीका बहुमत ९४४ मा २९ जना० सदस्यहरू बसेर संसद् विघटन गरेको अभियोगमा प्रधानमन्त्रीलाई पार्टी अनुशासनको कारबाही गरेपछि फुट त्यहीँबाट सुरु भयो,” उनी भन्छन् ।अर्का स्थायी कमिटी सदस्य बेदुराम भुसाल प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेसँगै नेकपा फुट–विभाजनको अध्यायमा प्रवेश गरिसकेको बताउँछन् ।

“संसद् विघटन गर्नेबित्तिकै नेकपा फुटको बाटोमा अघि बढेको हो । भोलि होइन, आइतबार नै नेकपा फुटिसकेको हो,” भुसाल भन्छन् । उनले प्रधानमन्त्रीले भोलि गर्ने सम्भावित कारबाहीको कुनै उपादेयता नरहने जिकिर गर्छन् ।

“पार्टी भनेकै बहुमत हो । अल्पमतमा रहेकाले कारबाही गर्न सक्दैन,” उनी भन्छन्, “प्रधानमन्त्री केपी ओलीले संसद् विघटनजस्तो गैरसंवैधानिक कदम उठाएको, विधानको धारा ५६ को विभिन्न उपधाराविपरीत काम गरेको हुनाले उनलाई अनुशासनको कारबाही गरिसकिएको छ । आफैं कारबाहीमा परेकोले अरूलाई कारबाही गर्ने कुरै आउँदैन । यसको कुनै औचित्य, वैधानिकता पनि रहँदैन ।”

नेकपाको अन्तरिम विधानको धारा ५६ ले कुनै पनि कमिटी वा निकाय र तिनका पदाधिकारी तथा सदस्यहरूमाथि अनुशासनात्मक कारबाही गर्न सक्नेछ । पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय उल्लङ्घन गरेको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको प्रमाणित भएमा अनुशासनको कारबाही गर्न सक्नेछ ।

प्रधानमन्त्री ओलीलाई यही प्रावधान टेकेर अनुशासनको कारबाही गरिएको नेकपाका नेताहरू बताउँछन् । त्यस्तै भुसालले विधानको धारा ६० अनुसार बहुमतले कारबाहीको सिफारिस गरेको बताउँछन् । अन्तरिम विधानको धारा ६० मा ‘बहुमतको निर्णय नै पार्टी निर्णय हुने’ उल्लेख गरिएकाले स्थायी कमिटी बैठकले त्यही व्यवस्थामा टेकेको उनको भनाइ छ ।
आगामी बैशाखमा दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता भंग भएपछि निर्वाचन आयोगले नेकपा एमाले र सूर्यचिह्नलाई मान्यता दिने संकेत गरे । त्यसैगरी माओवादी र हँसिया हथौडा चुनावचिह्न प्रचण्ड समूहले पाउने उनले जनाउ दिए ।

यस्तै ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् ।

प्रकाशित मिति : ७ पुस २०७७ मंगलबार ००:००  ६ : १० बजे