९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राज्यले वैज्ञानिक बनमाथि गरेको अत्याचारबारे श्रृङ्गीघाटले उपभोक्तालाई बतायो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृङ्गीघाट सामुदायिक वनले सामुदायिक बनमाथि राज्यबाट भएको अपमान र अत्याचारबारे आफ्ना उपभोक्तालाई जानकारी गराएको छ ।

नगरको वनले वडा नम्बर ८ मधुवनस्थित भवनमा भएको आर्थिक बर्ष २०७७ । ७८ को नीति तथा कार्यक्रम छलफलको क्रममा काठ दाउरा निकासीमा राज्यले लगाएको रोकबारे जानकारी गराइएको वनले जनाएको छ ।

वैज्ञानिक वन ब्यवस्थापन संजालका केन्द्रिय उपाध्यक्ष जय प्रकाश पाण्डेले आफूहरुको अभिभावक मानिएको वन महासंघ (फेकोफन) ले अनावश्यक आरोपहरु वैज्ञानिक वन ब्यवस्थापन संचालकमाथि लगाएको हुँदा अब सबैले यसको प्रतिबाद गर्नु पर्ने बताउनु भयो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका उहाँले मुलुकमा भएका सामुदायिक, वैज्ञानिक तथा साझेदार बनको बचावटको लागि अहिले आफूहरु आन्दोलनमा रहेको जानकारी गराउँदै यसमा सबै उपभोक्ताका उत्तिकै साथ रहनु पर्ने धारणा राख्नु भयो । विदेशी दलालको पछि लागेर फेकोफनले वैज्ञानिक वनको अस्तित्वलाई सखाप पार्न लागेको उपभोक्तालाई प्रष्ट्याउनु भयो ।

वनकी अध्यक्ष तथा वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला संजालकी संयोजक रेनु सेनले पश्चिम तिरका केही वैज्ञानिक वनहरुले गरेको गल्तीको सजाय देशभरीका सामुदायिक र वैज्ञानिक वनका संचालकले भोग्नु परिरहेको बताउँदै कुनै पनि हालतमा राज्य सच्चिएर काठको कटान तथा निकासी रोक्का फुकाउनु पर्नेमा जोड दिनु भयो ।

फेकोफन र राज्यको विरुद्ध आफूहरु चरणवद्ध आन्दोलनमा रहेको बताउँदै उपभोक्ताहरु एकजुट भएर सफल बनाउनु पर्ने सेनले बताउनु भयो । कपिलवस्तुबाट सुरु भएको संजाल गठन देशब्यापी हुँदै गएको भन्दै सेनले यो आन्दोलनले राज्यलाई घुँडा टेकाएरै छोड्ने चेतावनी दिनुभयो ।

वनका सचिव कृष्ण पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा लेखा समिति संयोजक गोविन्द ज्ञवाली, निर्वाचन समिति संयोजक कमल आचार्य, सल्लाहाकार चेतना अधिकारी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा सहभागी उपभोक्ताले काठ निकासी रोकिनुका कारण लगायतमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७ सोमबार ००:००  ४ : ४३ बजे