मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृङ्गीघाट सामुदायिक वनले आर्थिक बर्ष २०७७ । ७८ मा गरिने नीति र कार्यक्रमबारे छलफल गरेको छ । नगरको वडा नम्बर ८ को मधुवनमा रहेको वन कार्यलायमा आगामी दिनका योजना र कार्यक्रमबारे उपभोक्तामाझ छलफल भएको हो ।
गत आर्थिक बर्षमा कोरानाका कारण धेरै कार्यक्रम प्रभावित भएको हुँदा अब नयाँ कार्यक्रमसहित अगाडी बढ्नु पर्नेमा संचालक र उपभोक्ताले एकै मत राखेका छन् । प्रत्येक बर्ष वनले मातहतका १४ मौजामा बिभिन्न भौतिक विकास र सिप विकासका कामहरु गरिरहेको भन्दै यसपटक पनि ती कामहरुले निरन्तरता पाउने वनकी अध्यक्ष रेनु सेनले जानकारी गराउनु भएको थियो ।
उहाँले प्रत्येक टोलबाट बढीमा साढे ३ लाख सम्मका योजनाहरु लिएर आएमा वनले स्विकृति दिने भन्दै समितिलाई चाँडै काम गर्न निर्देशन दिनु भयो । योजना बनाउँदा गाउँ तथा उपभोक्ताको आय आर्जन, सिप क्षमता विकास गर्नेमा ध्यान दिन पनि उहाँकोे अनुरोध छ ।
विगतमा बिभिन्न कामका योजना आए पनि कतिपय समितिको बदमासी र लापरबाहीका कारण लक्षित वर्गसम्म नपुगेको गुनासो आफू कहाँ आएकाले यसपटक त्यसो नगर्न उहाँको सुझाव छ । विगतमा एकमुष्ट रकम भुक्तानी दिइहाल्ने तर काम नहुने हुँदा यस पटकबाट पहिले पेश्की बापत रकम दिएर योजना सकिएपछि मात्र कागजातको आधारमा बाँकी रकम भक्तानी गरिने पनि उहाँले जानकारी गराउनु भएको थियो ।
कोरोनाको महामारी, राज्यले काठको निकासी रोक्नु इत्यादी कारणले गत बर्ष भनेजसरी काम गर्न नसकिएको बताउँदै यसपटक पनि योजनाबमोजिक काम हुन्न कि भन्ने निरासा नपाल्न वनकी अध्यक्ष सेनको आग्रह छ ।
कार्यक्रममा सहभागी उपभोक्ताले पशुपालन, कृषि, सिलाइ, बुनाई, ब्युटिपार्लर तथा डलकुसन निर्माणसंगै अन्य आत्मनिर्भरताका योजना बनाउनु पर्नेमा छलफल गरेका थिए । यस्तै उपभोक्ताले वनको नयाँ कार्यसमितिको पूर्णता लगायतबारे पनि जिज्ञासा राखेका थिए ।
निर्वाचन समिति संयोजक कमल अर्यालले तीन चार दिनभित्र यसबारे जानकारी दिइने बताउनु भयो । वनका सचिव कृष्ण पौडेलको संचालन र अध्यक्ष रेनु सेनको अध्यक्षतामा छलफल सम्पन्न भएको हो ।
प्रतिक्रिया