मायादेवी अनलाइन, बुद्धभूमि ।
महिला स्वास्थ्य स्वयमसेविकालाई कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले प्रोत्साहन स्वरुप रकम उपलब्ध गराएको छ ।
चालु आवमा महिला स्वास्थ्य स्वयमसेविकालाई काममा थप प्रोत्साहन मिलोस भन्ने उद्धेश्यले नगरपालिकाले दश/दश हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको थियो ।
सोही अनुसार सोमबार पहिलो किस्ता वापतको जनही पाँच/पाँच हजार उपलब्ध गराइएको हो । योसंगै स्वयमसेविकाको हकमा जिल्लामा गरिएको पहिलो रचनात्मक काम पनि भएको छ ।
कोभिड-१९ को महामारीमा पनि समुदायलाई कोरोनाबाट बचाउन उनीहरुले खेलेको भूमिका र अरु स्वास्थ्यका अभियानमा पनि दिनरात निशुल्क खटिएर सेवा गर्दै आएका स्वयमसेविकाको मनोबल उच्च बनाउन बुद्धभूमिले यस्तो कार्यक्रम ल्याएको थियो ।
सोमबार नगरपालिकामा भएको एक कार्यक्रममा नगरभित्रका १ सय ४२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई नगर प्रमुख केशव कुमार श्रेष्ठ, उप-प्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जनही ५/५ हजारका दरले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले महिला स्वास्थ्य स्वयमसेविकालाई थप प्रोत्साहन गर्न नगरपालिकाले उक्त रकम दिएको बताउनुभयो । नगरभित्र स्वयमसेविकाले गरेको काम प्रति आफुहरु सन्तृष्ट रहेको भन्दै चालु आवबाट बार्षिक दश÷दश हजारका दरले प्रोत्साहन वापत रकम दिने निर्णय लिइएको बताउनुभयो ।
बर्षभरी काम गरेपनि सामान्य भत्ता पाउँदै आएका स्वयमसेविकालाई काममा थप उर्जा, हौसला र प्रोत्साहन मिलोस भन्ने हेतुले रचनात्मक कार्यक्रम लिइएको उहाँले जनाउनुभयो ।
नगर उप-प्रमुख मिरा थारुले महिला दिदीविहिनीले स्वयमसेविकाको माध्यमबाट स्वास्थ्यको क्षेत्रमा उल्लेख्य काम गरेको सुनाउनुभयो । घाम, पानी, भोक तीर्खा नभनि स्वयमसेविकाले फिल्डमा काम गर्दै आएको सुनाउँदै अझै थप हौसला मिलोस भनेर यो रकम दिइएको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले महिला स्वास्थ्य स्वयमसेविकाको कामलाई नगरले उच्च मूल्याङ्कन गरेको भन्दै आगामी दिनमा कार्यविधि बनाएरै अगाडी बढ्ने योजना रहेको सुनाउनुभयो ।
आर्थिक नियमावलीनुसार आफुहरु चल्नुपर्ने भन्दै कार्यविधि बनाएर स्वयमसेविकालाई थप हौसला मिल्ने गरी अबका दिनमा नगरले थप कार्यक्रम ल्याउने सोच बनाएको बताउनुभयो । बर्षभरी काम गरेपनि राज्यबाट पाउने सुविधा स्वयमसेविकालाई कम भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले बृद्ध अवस्थामा पुगेपछि केही भएपनि प्रोत्साहन रकम दिन मिलोस भनेर कार्यविधिको अवधारणा ल्याउन लागिएको सुनाउनुभयो ।
महिला स्वास्थ्य स्वयमसेविका नगर सञ्जालकी अध्यक्ष शारदा शर्माले नगरपालिकाले पहिलो पटक आफुहरुलाई प्रोत्साहन वापतको रकम दिएको भन्दै खुसी व्यक्त गर्नुभयो । नगरले दिएको काम आफुहरुले कुशलतापूर्वक निर्वाह गरिरहेको भन्दै यस्ता प्रकारका कार्यक्रमले आफुहरुलाई काम गर्न थप हौसला मिल्ने अध्यक्ष शर्माले बताउनुभयो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खुबीराम खनालले स्वास्थ्य स्वयमसेविकालाई पहिलो किस्ता वापत जनही पाँच/पाँच हजार दिइएको भन्दै यही बर्ष नै थप पाँच/पाँच हजार दिइने बताउनुभयो । आफुहरुले पहिलो पटक महिला स्वास्थ्य स्वयमसेविकाको मनोबल उच्च बनाउने गरी काम थालेको भन्दै यस्ता प्रकारका अरु कार्यक्रम पनि ल्याइने बताउनुभयो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा अधिकृत गोकर्ण अर्यालले गर्नुभएको थियो ।
प्रतिक्रिया