९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपाल भन्छन् यस्तालाई कारवाही गर्नैपर्छ, संसद पुर्नस्थापना हुने पुनको दाबी



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीको अध्यक्ष वा केन्द्रीय कमिटीमा बस्न लायक नभएको भन्दै यस्ता व्यक्तिलाई पार्टीले कारबाही गर्नैपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको अनि अध्यादेश ल्याउँदिनँ भने झूटो बोलेको बताउँदै नेता नेपालले प्रश्न गर्नुभयो, ‘वास्तवमा प्रश्न खडा हुन्छ, उहाँ पार्टी सदस्यका लागि लायक हो त ?’

पूर्वप्रधानमन्त्री एवं नेकपा नेता नेपालले कोही व्यक्तिले पार्टी छाडेर जाँदैमा नेकपा नफुट्ने दाबी गर्नुभयोे । ओलीमाथि कारबाही भए पनि पार्टी एकता यथावतै रहने उहाँले बताउनुभयो । उहाँले केपी ओलीलाई लक्षित गर्दै भन्नुभयो, ‘पार्टी छोडेर हिँड्नुभयो भने उहाँको कुरा भो । कुनै पनि व्यक्ति कुनै पनि पार्टी नबस्न सक्छ, त्यो कुन ठूलो कुरा भयो र ?’

आगामी मध्यावधि चुनावमा पार्टी एकढिक्का भएरै जाला त भन्ने पश्नमा उहाँले चुनाव नहुने बरू संसद पुनर्स्थापना हुने बताउनुभयो । संचारकर्मीसंगको कुराकानीमा नेता नेपालले भन्नुभयोे, ‘चुनावको प्रश्नै छैन, संसदको पुनर्स्थापना हुन्छ ।’

यता आइतबार राजीनामा दिएर मन्त्रिनिवास पुल्चोकबाट राति नै डेरा सरिसक्नुभएका निवर्तमान ऊर्जामन्त्री वर्षमान पुनले अब संसदको पुनर्स्थापना हुने र मध्यावधि चुनाव खारेज हुने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावलाई अब सभामुखले अघि बढाउनुपर्ने निवर्तमान मन्त्री पुनले बताउनुभयो ।

अनलाइनखबरसँग कुराकानी गर्दै नेकपा स्थायी कमिटी सदस्य पुनले भन्नुभयो, ‘संसद विघटनअगाडि नै पेश गरेको प्रस्तावलाई कुनै न कुनै रूपले सभामुखले अगाडि बढाउनुपर्ने हुन्छ ।’
आफूहरूले सरकारमा रहँदा प्रधानमन्त्री ओलीलाई सच्याउने प्रयास गरेको तर सम्भव नभएकाले सातजना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएको उहाले बताउनुभयो ।

प्रकाशित मिति : ६ पुस २०७७ सोमबार ००:००  ८ : २० बजे