काठमाण्डौँ ।
नेकपा सचिवालयका सदस्य तथा गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहने भएका छन् । आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएपछि पूर्वमाओवादी पक्षका पाँच र माधव नेपाल पक्षका दुईसहित सात जना मन्त्रीहरूले राजीनामा दिएका छन् ।
पूर्वमाओवादी पक्षबाट गृहमन्त्री बनेका थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा घोषणा गरेनन् । यसले उनीहरू दुवै जना प्रधानमन्त्री ओलीको साथमा रहेको देखिएको छ ।प्रधानमन्त्री ओलीले आइतबार संसद विघटनको सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद बैठकबाट लिनुअघि नै गृहमन्त्री थापासँग सल्लाह गरेका थिए ।
पछिल्लो समय थापाले प्रचण्ड र ओली दुवैको प्रस्ताव फिर्ता हुनु पर्ने र पार्टीको विवाद मिलाउन कार्यदल गठन गर्नुपर्ने प्रस्ताव सचिवालय बैठकमा राखेका थिए, जुन बहुमतले अस्वीकृत भएको थियो ।
थापा निकट ती नेताका अनुसार ओलीले उनलाई संसद विघटनपछि पनि गृहमन्त्री कायम राख्ने र नेकपा विभाजन भएपछि बन्ने नयाँ पार्टाीमा सहअध्यक्ष बनाउने आश्वासन दिएका छन् ।
थापा ओलीलाई साथ दिने पूर्वमाओवादी पक्षका सबैभन्दा वरिष्ठ नेता हुनेछन् । र, नेकपाको सचिवालय सदस्य पनि भएको हिसावले यदि नेकपा विभाजन भएर ओलीको नेतृत्वमा नयाँ एमाले गठन भएमा थापाले दोस्रो नम्बर दाबी गर्नु स्वभाविक पनि देखिन्छ । ओली निकट नेता महेश बस्नेतले आइतबार संसद विघटन भएपछि ‘अब पूर्वएमाले ब्युँताउने’ बताइसकेका छन् ।
प्रतिक्रिया