मायादेवी अनलाइन, तौलिहवा ।
तोकिएको सिमा अवधि सकिदा समेत सीमा नाका नखोलिदा नागरिकहरुले सास्ती पाएको भन्दै सीमा नाका तत्कालै खोल्न नेपाली कांग्रेस कपिलवस्तुले माग गरेको छ ।
कोरोनाका कारण मंसीर ३० सम्मका लागि सरकारले मानिसको आवगमन रोके पनि मालबाहक सवारी साधानलाई भने आउन जान दिइएको छ ।
नागरिकलाई सास्ती भएको भन्दै नेपाल भारत सीमा नाका तत्काल खोल्न पार्टीले ज्ञापनपत्र मार्फत माग गरेको हो ।
बन्द सिमा नाका खोल्न माग गर्दै नेपाली कांग्रेस कपिलवस्तुले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्य नेतृत्वको टोलीले प्रजिअ दिर्घ नारायण पौडेललाई बुझाएको ज्ञापनपत्रको बोधार्थ गृह तथा परराष्ट्रमन्त्रीलाई समेत दिइएको छ ।
ज्ञापनपत्रमा कोभिड संक्रमण रोकथाममा सरकारले गरेको कार्यसम्पादन प्रभावकारी नभएको, सरकारले नागरिकलाई स्वास्थ्य अधिकारको प्रत्याभूति गराउन नसकेको, अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने समय सीमा सकिदा समेत सो बिषयमा सहि निर्णय लिन नसकेको उल्लेख गरिएको छ ।
सीमा नखोल्दा नागरिकले औषधी उपचार, बिहेवारी, पारिवारीक भेटघाट, कृषि कार्यका सामग्री लिन जाँदा अनेकौ दुखः भोग्नु परेको जनाउदै नाका बन्दको निर्णयको प्रभावकारीता शुन्य भएकाले तत्काल सीमा नाका खोल्न माग गरिएको छ ।
आफ्ना मागको सुनुवाई नगरिए कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने जानकारी ज्ञापनपत्रमा दिइएको छ । पार्टी सभापति आचार्यले कोभिडको नाममा अहिले पनि सीमा नाकामा नागरिकहरुलाई जान नदिदा धेरै समस्या आएको बताए । यो निर्णयको अहिलेको अवस्थामा अब्यवहारिक रहेकाले नाका तत्कालै खोल्नु पर्ने उनले बताए ।
कार्यक्रममा पार्टी आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, पार्टी पूर्व जिल्ला सभापति राजेश आचार्य, प्रदेशसभा सदस्य रिना बिक, पार्टी नेता राम आशिष पाण्डेय, जिल्ला सचिव महेन्द्र पाठक, कोषाध्यक्ष शोहरत तेली, नेता ललित गुरुङ, युवा नेता राजेश ज्ञवाली, प्रकाश घिमिरे, माधव पराजुली, युवा नेता दुर्गेश पाण्डेय सहितको सहभागीता थियो ।
सरकारले गत चैत्र ११ गते देखि मंसीर ३० गते सम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया