मायादेवी अनलाइन, वाणगंगा ।
बोलेरो जिपले ठक्कर दिदा अर्घाखाँचीका पुष्कर पन्थीको निधन भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ५ घर भई वाणगंगाको चारनम्बर होराइजन चोकमा किराना पसल सञ्चालन गर्दै आएका पन्थीको बोलेरो जिपले ठक्कर दिदाँ शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिनुभयो ।
लु ३२ प ६१२१ नं. को आफै सवार मोटरसाइकल मार्फत कपिलवस्तुबाट बुटवल तर्फ गैरहेका पन्थीलाई बुटवलबाट पश्चिम तर्फ आउँदै गरेको लु १ च ७१३८ नं.को बोलेरोले रुन्पन्देही सैनामैना ११ को पिपलडाँडामा ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका पन्थीलाई तत्कालै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ पुग्दा वित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
तीव्र गतिमा आएको बोलेरोको ठक्करबाट मोटरसाइकल क्षतविक्षत रहेको जनाइएको छ । मोटरसाइकलाई ठक्कर दिने सन्धिखर्क १ निवासी ऋषिराम खत्री बोलेरो चालक अहिले इलाका प्रहरी कार्यालय झालझण्डीको नियन्त्रणमा छन् । मृतक पन्थीका एक श्रीमती र दुई छोराछोरी रहेका छन् ।
प्रतिक्रिया