काठमाडौं ।
पार्टीमा अल्पमतमा रहेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिनभरि राजनीतिक भेटघाटमा व्यस्त रहे । स्थायी कमिटी बैठकमा आफू विरुद्ध कदम चाल्न सक्ने सुईको पाएका ओलीले नेताहरूलाई आफूतिर तान्ने र त्यो नमाने तर्साउने रणनीति एकसाथ जारी राखेका छन् ।
उनको शनिबारको राजनीतिक भेटघाटका मूलतः तीन उद्देश्य देखिन्छ, १. वामदेवलाई अध्यादेशको कार्ड फालेर आफ्नो कित्तामा तान्ने वा तटस्थ राख्ने, २. त्यसपछि स्थायी समितिमा जारी बहसलाई सचिवालयमा फर्काउने र समय लम्बाउने, ३. उल्लेखित दुवै उपाय सम्भव नभए अध्यादेश यथावत् राखेर नेताहरूलाई तर्साउने ।
एकातिर सहमतिका लागि आग्रह र अर्कोतिर राज्य शक्ति लगाएर दमन गर्ने रणनीति सँगसँगै अघि बढाएपछि कुनै पनि नेता ओलीको बोलीमा विश्वास गर्न सक्ने अवस्थामा छैनन् । यता प्रचण्ड-नेपाल समूह ओलीसँग निर्णायक लडाइँ लड्ने प्रण गरेका छन् । पार्टीको बहस स्थायी समितिमा झरिसकेका कारण अब सचिवालयमा होइन, केन्द्रीय समितिमा पुर्याएर विवादको छिनोफानो गर्ने तयारीमा बहुमत समूह जुटेको छ ।
तर प्रधानमन्त्री ओलीले भेटघाटका क्रममा नेताहरूलाई विभिन्न पदहरू दिने आश्वासन सहित आफूतिर तान्ने प्रयास भने जारी राखे ।
कसलाई कुन पदको अफर
प्रचण्ड : महाधिवेशनपछि एकल अध्यक्ष, चुनावपछि प्रधानमन्त्री ।
माधव नेपाल : पूर्वएमाले ब्युताए पार्टी अध्यक्ष, चुनावपछि प्रधानमन्त्री ।
वामदेव गौतम : प्रचण्ड-नेपाल समूह छोडे अहिल्यै अध्यक्ष, चुनावी सरकारको प्रधानमन्त्री, आफ्नो समूहको उत्तराधिकारी ।
रामबहादुर थापा बादल : कित्ता क्लियर गरेर आए आफ्नो उत्तराधिकारी, नवगठित एमालेको अध्यक्ष
ईश्वर पोखरेल : आफ्नो समूहको उत्तराधिकारी, आफ्नो कार्यकालपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष ।
सुरेन्द्र पाण्डे : आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट जोगाए सहमति गरेर पार्टी महासचिव ।
शंकर पोखरेल : नेकपाभित्र जारी विवादलाई मिलाएपछि तत्कालै पार्टीको महासचिव ।
टोपबहादुर रायमाझी : आफ्नो कित्तामा उभिएर पूर्वमाओवादी नेता तानेमा सरकारमा उपप्रधानमन्त्री ।
हरिबोल गजुरेल : तेस्रो धार जन्माएर आफ्नो संकट टरेपछि सरकारमा रोजेको मन्त्रालय ।
घनश्याम भुसाल : पार्टीभित्र मध्यमार्गी भूमिका खेले सरकार पुनर्गठनपछि रोजेको मन्त्रालय ।
लेखराज भट्ट : नेकपामा आफ्नो बहुमत पुगेपछि सुदूरपश्चिम प्रदेशको इञ्चार्ज ।
भीम रावल : सरकारको समर्थनमा उभिए रोजेको मन्त्रालयसहित उपप्रधानमन्त्री ।
झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग भने ओलीले त्यस्तो कुनै अफर गरेका छैनन् ।
साभारः लोकपाटीबाट
प्रतिक्रिया