नेपालगन्ज ।
बाँके प्रहरीले ब्राउन सुगरसहित एक पुरुषलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका १२ चप्परगौडीका ४५ वर्षीय इन्द्रमणी गौतम ४४ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर ११ एनटीभी रोडबाट पक्राउ परेका हुन् ।
प्रहरीले उनको साथबाट लागू औषध तौल गर्ने सानो डिजिटल मेसिनसमेत बरामद गरेको छ । बाँके प्रहरीले लागूऔषध नियन्त्रण महाअभियान सञ्चालन गरेपछि कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।
कोहलपुर नगरपालिकाका एनटीभी रोडमा लागू औषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखाबाट खटिएको प्रहरी टोलीले गौतमलाई तलासी लिने क्रममा पाइन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडियामा लुकाएर राखिएको ब्राउन सुगर बरामद गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका गौतम यसअघि पनि जाजरकोट जिल्लामा लागू औषध चरेस मुद्दामा पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।
प्रतिक्रिया