९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतसँगको पहिलो टेष्टमा अष्ट्रेलिया ८ विकेटले विजयी



काठमाण्डौ ।

भारतसँगको पहिलो टेष्ट क्रिकेट अष्ट्रेलियाले ८ विकेटले जितेको छ । भारतले दिएको ९० रनको सामान्य लक्ष्य अष्ट्रेलियाले मात्र २ विकेट गुमाएर भेट्टायो । उसका लागि जोय बन्सले ५१ र म्याथु वाडेले ३३ रन बनाए । यसअघि भारतले आफ्नो टेष्ट इतिहासकै न्यून स्कोरको खराब रेकर्ड बनायो । दोस्रो पारीमा ३६ रन मात्रै बनाउन सकेपछि भारतको न्यून स्कोरको रेकर्ड बनेको हो ।

यसअघि सन् १९७४ मा भारतले इङ्ल्याण्डसँगको खेलमा ४२ रन मात्रै बनाएको थियो । भारतलाई इतिहासकै न्यून स्कोरमा समेट्न अस्ट्रेलियाका प्याट कमिन्सले ४ र जोस ह्याजलउडले ५ विकेट लिए । ९ रनमा एक विकेट गुमाएको अवस्थाबाट खेल थालेको भारतले ९ विकेटको क्षतिमा ३६ रन मात्र बनायो । उसका मोहम्मद शामी घाइते भएका कारण अष्ट्रेलियालाई ९० रनको चुनौती दिएको थियो । ९ रन जोड्दा एक विकेट गुमाएर तेस्रो दिनको खेल थालेको भारतले १९ रन बनाउँदा महत्त्वपूर्ण ६ विकेट गुमाइसकेको थियो । भारतका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मयंक अग्रवालले सर्वाधिक ९ रन बनाए भने कप्तान विराट कोहली ४ रनमा आउट भए । भारतले पहिलो पारीमा दुई सय ४४ रन बनाएको थियो । उसका लागि विराट कोहलीले ७४, चेतेश्वर पुजाराले ४३ र अजिन्क्या रहाणेले ४२ रन बनाए । अस्ट्रेलियाले पहिलो पारीमा एक सय ९१ रन बनायो । उसका लागि टिम पेनले सर्वाधिक ७३ रन बनाए । त्यस्तै मार्नुस लाबुशेनले ४७ रनको योगदान गरे । जीतसँगै ४ टेष्टको शृङ्खलामा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७ शनिबार ००:००  २ : २८ बजे