दिपक अनुरागी, चन्द्रौटा (कपिलवस्तु) ।
सम्झौता अनुसार काम भएको भए शिवराज नगरपालिकाका जनप्रतिनिधि आफ्नो कार्यकालको अन्तिम बर्षसम्म नयाँ भवनमा बस्न पाउने थिए । तर, भवन निर्माण धमाधम भैरहेको बेला राजनीतिक स्वार्थ घुस्दा निर्माणको काम अहिले पूर्णतया ठप्प छ । गत चैत्र ११ गते देखि लकडाउनको प्रत्यक्ष मार खेपेको ठेकदारले लकडाउन खुलेसंगै स्वार्थ समूहको अवरोध झेलेको छ ।
भवनको जग हालेर भुईतला ढलाई गर्ने बेला अदालतसम्म भवन रोक्न माग गर्दै मुद्धा दायर भएपछि काम रोकिन पुगेको हो । भवनको काम रोकिदा नगरपालिकाको करोडौं रकम नोक्सानी हुने खतरा त छदैं छ ठेकेदार पक्षको पनि लाखौं घाटा गुमिरहेको छ । ‘तोकिएकै मितिमा काम गर्न पाएको भए समयमै काम सकाउने थियौं ठेकेदार पक्षले मायादेवी अनलाइनसंग भन्यो–‘यसको विवाद समाधान कहिलेसम्म हुने हो टुंगो नहुँदा समस्या बढ्यो ।’
कैलाश एण्ड कम्पनीले नगरपालिकाको भवन निर्माण गर्न झण्डै १२ करोडको ठेक्का पाएको छ । भवनको जग हाल्ने काम सकिसकेको छ भने भुईतला ढलाई गर्न ठिक्क पारिएको छ ।
०७१ सालमै स्थापना भएको शिवराजले अहिलेसम्म पनि भाडाबाट सेवा दिदैं आएको छ । जिल्लाको व्यापारिक नगरीको रुपमा परिचित शिवराजको आफ्नै भवन नहुँदा बार्षिक लाखौं रुपैयाँ गुमिरहेको छ । ०७४ सालमा स्थानीय सरकारको रुपमा मान्यता पाएर जनप्रतिनिधि पाएको शिवराज नगरपालिका चन्द्रौटास्थित एक भाडाको घरबाट सञ्चालन भैरहेको छ ।
‘भवन साँघुरो छ । दर्जनौं कर्मचारीले विभिन्न फाँटहरुमा काम गर्नुपर्छ । दैनिक सयौं नागरिक सेवा लिन नगरपालिका धाउँछन्, आफ्नै भवन नहुँदा कामकाजमा निकै समस्या भएको छ, नगर प्रमुख नेत्रराज अधिकारीले मायादेवीसंग भन्नुभयो, हाम्रो पालामा नयाँ भवन बनाएर नागरिकलाई सेवा दिउँ भन्ने सोचेका थियौं काम गर्न अवरोध खडा गरिएको छ ।’
निर्माणधिन भवन मेयरको नभई आम नगरबासी हो भन्ने विरोध गर्ने साथीहरुले नबुज्दा यस्तो स्थिति आएको नगर प्रमुख अधिकारी बताउँनुहुन्छ ।
विवादको चुरो कुरो खास के हो !
नगरको भवन बनाउने क्षेत्राधिकार निर्वाचित जनप्रतिनिधि कै हो । यद्यपि नगरको भवन भएको कारण आम सरोकारवालाहरुको राय सुझाव पनि महत्वपूर्ण रहन्छ । सोही अनुसार शिवराजका जनप्रतिनिधिले सबैको राय, सुझाव र सहमती खोजेर भवन बनाउन लागेका हुन् ।
चन्द्रौटा बजार क्षेत्रभित्रै नगरको भवन बनाउनुपर्नेमा सर्वपक्षिय, सर्वदलिय सहमती जुटेको थियो । ‘नगद पैसाले जग्गा किनेर सरकारी भवन बनाउन मिल्दैन् । त्यसो हुँदा जग्गा प्राप्तिका विभिन्न उपाय अवलम्वन गरी जग्गा खोज्नुपर्ने हुन्थ्यो नगर प्रमुख अधिकारीले भन्नुभयो, रहटकोलमा रहेको ऐलानी जग्गा खोजेर भवन बनाउन लागेका हौं ।’
विशेषगरी थारुहरुको बसोबास रहेको रहटकोलमा ऐलानी जग्गा प्रयाप्त छ । थारु समुदाय आफुले जोतभोग गरेको जग्गा भन्दा बढी ऐलानी जग्गा यहाँ छ । प्रयोग नभएको खाली जग्गामा भवन बनाउने गरी यहाँका थारु समुदायले सहमती दिएपछि नगरपालिकाले उक्त स्थानमा भवन बनाउने निर्णय गरेको थियो ।
दलीय सहमती अनुसार नगरपालिकाले उक्त स्थानमा टेण्डर आह्वान गरी भवन निर्माण थालेको हो । घरदैलोमै नगरको मुकाम आएपछि उपेक्षितबस्तिको विकास हुने आशा यहाँका सर्वसाधारणलाई थियो । बर्षौदेखि लालपूर्जाविहिन यहाँका सर्वसाधारणले घर नजिकै नगरको कार्यालय आएपछि हामीलाई प्राथमिकतामा राखेर लालपूर्जा दिलाउँछन भन्ने आशा यहाँका सर्वसाधारणले पालेका थिए । नगरपालिकाका जनप्रतिनिधिले पनि यहाँका स्थानीयलाई प्राथमिकतामा राखेर लालपूर्जा दिने आश्वासन दिएका थिए ।
तर, रहटकोलमा नगरपालिका बस्ने भएपछि जग्गा दलालहरुको निन्द्रा हराम भएको स्रोत बताउँछ । विभिन्न प्रलोभनमा पारेर आफुहरुको प्लटिङ क्षेत्रतिर नगरपालिका बसाउने कसरत गरेका जग्गा दलाललाई आफुले भनेको नभएपछि नेताको प्रयोग गरी भवन रोक्नेसम्मको हरकत गरेको स्रोतको आरोप छ ।
‘नगरको मुकाम आफ्ना जग्गा आसपासमा राख्न सके रातारात करोडपति बन्ने सोच जग्गा दलालको थियो चन्द्रौटा निवासी एक व्यक्तिले भने, ‘त्यो काममा जनप्रतिनिधि नलागेपछि अहिलेको स्थिति निम्त्याएका हुन् ।’
थारु बस्ती जाने सम्भावना कति छ ?
बाहिरी चर्चामा आए झै नगरको भवन बनाउदा कुनै थारु बस्ती जाने छैन् । बस्तीमा कुनै असर नपर्ने गरी बर्खामा पानी सङ्लेर पोखरी बनेको स्थानमा भवन बनाइएको हो कसरी थारुबस्ती जान्छन् ? नगर प्रमुख अधिकारीले प्रश्न गर्दै भन्नुभयो, यथार्थ के हो ठाउँमा आएर नहेरि बोल्न त भएन नि !’
सत्य एकातिर प्रचार अर्को तिर गरेर जनतालाई अन्यौल पार्ने काम भएको नगरपालिकाको गुनासो छ ।
रहटकोलमा नगरपालिकाको मुकाम भएसंगै यहाँको बस्ती थप चम्किने पक्का छ । चन्द्रौटा बजारको नजिकै रहेपनि हरेक हिसाबले पछाडी परेको यो बस्तीको भाग्य चम्काउन पनि नगरको मुकाम बसाल्नु अनिवार्य छ ।
मुकाम आफ्नो गाउँठाउँबाट अन्यत्र सार्न खोज्दा ज्यानको आहुती दिएका थुप्रै उदाहरण बनेका बेला रहटकोलबासीले यसको महत्व बुझ्नेमा चन्द्रौटाबासी आशाबादी देखिएका छन् ।
‘दैलो अगाडी आएको मुकामलाई रोक्न खोज्नु कतिसम्मको बुझाई होला पत्रकार दिपक खड्काले भन्नुभयो, अहिले अरुको लहलहैमा लागेर विरोध गरेपनि आगामी सन्ततिलाई पूर्खाले गरेको अवरोधले अवश्य आत्मग्लानी हुनेछ ।’
अब के हुन्छ ?
भवन बनाउने कुरा उठेको केहि दिनदेखि यसको विवाद अदालतसम्म पुगेको छ । सुरुमा जिल्ला अदालतमा भवन रोक्न माग गर्दै मुद्धा हालिएको थियो । जिल्ला अदालतले तत्काल काम नगर्न नगरपालिकालाई आदेश जारी गरेको थियो । जिल्ला अदालतको निर्णयलाई लिएर नगरपालिकाले तत्काल उच्च अदालत बुटवलमा मुद्धा हालेको थियो । उच्च अदालतले जिल्ला अदालतले गरेको निर्णय खारेज गरी काम सुचारु गर्न आदेश दिएको थियो ।
उच्च अदालतको आदेश अनुसार भवन निर्माणको काम अगाडी बढिरहेको बेला कोरोना भाइरसले कामलाई प्रभावित पारेको थियो । लगत्तै भवन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्धा परेपछि काम तत्काल रोकिएको हो । यो विषयको छिनोफानो कहिले हुन्छ सर्वोच्चको सुनुवाई पर्खेर चन्द्रौटाबासी बसेका छन् ।
प्रतिक्रिया