९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु प्रहरीद्धारा ५ महिनाको अवधिमा एक सय बढी फरार प्रतिवादी पक्राउ



मायादेवी अनलाइन, तौलिहवा ।
अदालतबाट कैद सजाय भएका तर हाल फरारमा रहेका १ सय ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले पछिल्लो ५ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरुलाई जिल्लाका विभिन्न प्रहरी युनिट मार्फत पक्राउ गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

पक्राउ परेका उनीहरुलाई प्रहरीले अदालतमा बुझाई जिल्ला कारागारमा थुनाका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले आज तौलिहवामा गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।

यसै गरी जिल्लामा चालु आर्थिक वर्षको मंसीर मसान्त सम्ममा ३ करोड १६ लाख १९ हजार ४ सय ५७ रुपैया बराबरको भंसार छली गरि ल्याईएको मालसामान पक्राउ गरेको छ ।

पक्राउ गरिएका माल सामानहरुलाई जिल्लाका २ भंसार कार्यालयहरु कृष्णनगर भंसार कार्यालय र सुठौली भंसार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।

समाजमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने हाम्रो प्रमुख जिम्मेवारी भए पनि यसका साथ साथै सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा पनि प्रहरी विशेष सक्रियताका साथ लागेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

जघन्य अपराधको दोषीको रुपमा अदालतले फैसला सुनाएका तर हाल फरारमा रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न विशेष सुराकीका आधारमा सादा पोशाकका प्रहरी खटाईएको छ, प्रहरी उपरीक्षक अधिकारीले भने, अपराध नियन्त्रण र चोरी तस्करीका विषयमा आफुहरु शुन्य सहनशीलताको सिद्धान्तमा अघि बढेका छौं ।” यस अघिका ५ वर्षहरुको तुलनामा अहिलेको ६ महिनामै हामीले उल्लेख्य सफलता पाई सकेका छौं, उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति डिलाराम भुसालले प्रहरीका सकारात्मक कामहरुको प्रशंसा गर्ने र खराब कामहरु विरुद्ध आफुहरु कलम चलाउने बताएका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७ शुक्रबार ००:००  ९ : ३२ बजे